बारामा शिक्षा कर्मचारीका लागि क्षमता विकास तालिम सुरु

रञ्जन यादब /बारा २४ भाद्र

स्थानीय तहको शिक्षा प्रशासनलाई थप प्रभावकारी, व्यवस्थित र तथ्यमा आधारित बनाउने उद्देश्यले बारामा दुई दिने क्षमता विकास तालिम सुरु भएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ बाराको आयोजनामा बुधबारदेखि सुरु भएको तालिममा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत शिक्षा शाखाका कर्मचारीहरू सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाराको सभाहलमा सञ्चालन भइरहेको तालिम बिहीबार सम्पन्न हुने जनाइएको छ।‘शैक्षिक योजना निर्माण, कार्यक्रम कार्यान्वयन, शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा प्रतिवेदन तयारी’ विषयक तालिममार्फत स्थानीय तहका शिक्षा कर्मचारीलाई योजना निर्माणदेखि कार्यक्रमको प्रगति मूल्यांकन र प्रतिवेदन तयारीसम्मका विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको छ।

तालिममा स्थानीय तहले वार्षिक शैक्षिक योजना तयार गर्दा विद्यालयको वास्तविक अवस्था, आवश्यकता र उपलब्ध स्रोतलाई कसरी समेट्ने भन्ने विषयमा विशेष छलफल गरिएको छ। साथै तयार गरिएका शैक्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, नियमित अनुगमन गर्ने र प्राप्त उपलब्धिको आधारमा प्रतिवेदन तयार गर्ने तरिकाबारे पनि सहभागीलाई प्रशिक्षण दिइएको छ।

विद्यालय र विद्यार्थीसम्बन्धी विवरण व्यवस्थापनमा प्रयोग हुने शैक्षिक तथ्याङ्क प्रणालीलाई सही र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषय पनि तालिमको प्रमुख प्राथमिकतामा रहेको छ। तथ्याङ्क प्रविष्टि, नियमित अद्यावधिक, प्रमाणीकरण तथा त्रुटि सच्याउने प्रक्रियाबारे सहभागीलाई जानकारी गराइएको आयोजकले जनाएको छ।प्रशिक्षणका क्रममा तथ्याङ्क केवल विवरण संकलन गर्ने माध्यम नभई शैक्षिक नीति तथा योजना निर्माणको महत्वपूर्ण आधार भएकोमा जोड दिइएको छ।

विद्यालयको वास्तविक अवस्था पहिचान गर्न तथा आवश्यकताअनुसार बजेट, स्रोत र कार्यक्रम तय गर्न विश्वसनीय तथा अद्यावधिक तथ्याङ्क आवश्यक पर्ने प्रशिक्षकहरूको भनाइ थियो।कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ बाराका प्रमुख अशोक रौनियारसहित सन्तोष शर्मा, उत्तम लामिछाने तथा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिश भट्टले विभिन्न विषयमा सहजीकरण गरिरहेका छन्।तालिममा स्थानीय तहका शिक्षा अधिकृत, शिक्षा शाखा प्रमुख, शिक्षा संयोजक तथा शैक्षिक तथ्याङ्क व्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीहरूको सहभागिता रहेको छ।दुई दिने प्रशिक्षणबाट सहभागी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय तहको शैक्षिक योजना, कार्यक्रम सञ्चालन, तथ्याङ्क व्यवस्थापन र प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।