घरमै पुगेर अपाङ्गता भएका तीन जनालाई ट्राइसाइकल र ह्विलचेयर वितरण

बारा २१ भाद्र

हिँडडुल गर्न कठिनाइ भोगिरहेका जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जना अपाङ्गता भएका व्यक्तिका लागि आइतबारको दिन विशेष बनेको छ । प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीको सहयोगमा उनीहरूलाई घरमै पुगेर इलेक्ट्रिक ट्राइसाइकल र ह्विलचेयर प्रदान गरिएको हो ।जीतपुरसिमरा उपमहानगरपालिका–१ का ६९ वर्षीय दिलबहादुर बस्नेतले इलेक्ट्रिक ट्राइसाइकल पाएपछि आफ्नो दैनिकी सहज हुने आशा व्यक्त गरेका छन् । जन्मजात देब्रे खुट्टा नभएका बस्नेतले यसअघि हातले चलाउने सामान्य ह्विलचेयरको सहायतामा आवतजावत गर्दै आएका थिए । उमेर बढ्दै जाँदा ह्विलचेयर चलाउन समेत कठिन भएपछि उनी श्रीमती ठगकुमारीको सहारामा निर्भर थिए ।

इलेक्ट्रिक ट्राइसाइकल पाएपछि भने बस्नेतमा आत्मनिर्भर बन्ने उत्साह देखिएको छ । उनले ट्राइसाइकलको प्रयोग गर्दै सानो व्यवसाय सुरु गरी आफ्नै आम्दानीबाट गुजारा चलाउने योजना सुनाएका छन् ।यस्तै, जीतपुरसिमरा–१ पथलैयाकी ३६ वर्षीया शान्तिकुमारी प्रसाईंलाई ह्विलचेयर प्रदान गरिएको छ । आठ वर्षको उमेरमा बिरामी परेपछि हातखुट्टा नचल्ने अवस्थामा पुगेकी प्रसाईंले जीवनमा पहिलोपटक ह्विलचेयर प्राप्त गरेकी हुन् । ह्विलचेयर पाएपछि खुसी भएकी उनलाई अब आवतजावत गराउन सहज हुने उनका दाइ रामहरि प्रसाईंले बताए ।त्यसैगरी जीतपुरसिमरा–१९ का २० वर्षीय जमिर अन्सारीले पनि पहिलोपटक ह्विलचेयर पाएका छन् । जन्मजात पूर्ण अपाङ्गता भएका फतेह आलम अन्सारीका कान्छा छोरा जमिरलाई ह्विलचेयर उपलब्ध भएपछि परिवारसँगै स्थानीयवासी पनि खुसी भएका छन् ।सहयोग सामग्री स्थानीय शिव पौडेल, रमेश थापा, राजदास श्रेष्ठ तथा नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेले सम्बन्धित व्यक्तिहरूको घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

अध्यक्ष वाग्लेले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन गुठीले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले आर्थिक तथा भौतिक रूपमा कमजोर अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिका लागि यस्ता सहयोगले आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्ने उल्लेख गरे ।समाजसेवामा सक्रिय प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले यसअघि पनि जीतपुरसिमरा र कलैयाका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको छ । गुठीकी संस्थापक राजी राणाले आफ्नो ८८औँ जन्मोत्सवको अवसरमा जीतपुरसिमरा र कलैयाका ६ जनालाई ट्राइसाइकल तथा दुई जनालाई ह्विलचेयर वितरण गरेकी थिइन् ।गुठीले हालै रसुवामा बाढीबाट प्रभावित परिवारका लागि १ करोड ९ लाख रुपैयाँ नगद तथा २५ लाख रुपैयाँ बराबरको खाद्यान्नसमेत सहयोग गरेको थियो ।