रञ्जन यादब /बारा १९ भाद्र
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित रातोपुल नजिक रहेको श्मशानघाटमा निर्माण गरिएको सिमेन्टको बस्ने ठाउँ (कुर्सी) तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–६ सिद्धरियाटोल बस्ने २० वर्षीय कईजान होदा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका होदाले लागुऔषध सेवन गरी नशाको अवस्थामा आफूले उक्त सिमेन्टको कुर्सीमा लात्ती प्रहार गरी भत्काएको बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जीतपुरमा फलफूल व्यवसाय गर्दै आएका स्थानीय वीरेन्द्र सहनी गोँढले आफ्नै निजी लगानीमा करिब १ लाख ८ हजार रुपैयाँको लागतमा श्मशानघाटमा उक्त सिमेन्टको बस्ने ठाउँ निर्माण गरेका थिए। बिहीबार राति करिब ८ बजे कुर्सीको ढलान सकेर उनी घर फर्किएका थिए।तर, शुक्रबार बिहान श्मशानघाट पुग्दा आफूले भर्खरै निर्माण गरेको सिमेन्टको कुर्सी पूर्ण रूपमा तोडफोड भएको अवस्थामा देखेपछि गोँढले घटनाबारे इलाका प्रहरी कार्यालय जीतपुरमा जानकारी गराएका थिए। उनले सार्वजनिक तथा धार्मिक महत्वको स्थानमा निर्माण गरिएको संरचना तोडफोड गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न माग गरेका थिए।

गोँढले श्मशानघाटमा दाहसंस्कारका लागि आउने सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत लगानीमा अन्य पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएका छन्। उनले करिब २० लाख रुपैयाँको लागतमा श्मशानघाट परिसरमा दुईवटा डिप बोरिङसमेत निर्माण गरेका छन्।दाहसंस्कारका लागि आउने मानिसलाई पानी पिउन, नुहाउन तथा अन्य धार्मिक संस्कार गर्न सहज होस् भन्ने उद्देश्यले डिप बोरिङ निर्माण गरिएको गोँढले बताएका छन्।स्थानीयका अनुसार श्मशानघाटमा निजी लगानी तथा सहयोगबाट निर्माण गरिएका संरचनाले दाहसंस्कारमा आउने सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्दै आएको छ। यस्तो सार्वजनिक उपयोगका संरचना तोडफोड हुनुले स्थानीयमा चिन्ता बढाएको छ।प्रहरीले पक्राउ परेका युवकविरुद्ध घटनाको प्रकृति तथा क्षतिको विवरणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।




