छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न ,राष्ट्रिय प्रतियोगिताकोलागि आँठ जना छनोट

रञ्जन यादब /बारा २० भाद्र

छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न भएको छ। बाईटर एकेडेमी सिमराको आयोजना तथा स्क्रायबल क्लब बाराको सहकार्यमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न १४ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा एक वटा सामुदायिक विद्यालयसहित विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रत्येक विद्यालयबाट दुई÷दुई जना विद्यार्थी सहभागी गराइएको आयोजकले जनाएको छ ।

साँत राउन्डमा भएको प्रतियोगितमा एस.पि.ई.स. सिमराका प्रिन्स यादब प्रथम , शुभाराम्भ एकेड्मीका पर्बत के.सि.द्धितीय र सभ्य मण्डल तृतीय भएको आयोजक बिद्यालयका साहयक प्रधानध्यापक चन्दन झाले जानकारी दिए । प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।साथै उक्त प्रतियोगिताबाट आँठ जना राष्ट्रिय प्रतियोगिताकोलागि छानिएका छन् । जसमा प्रथम ,द्धितीय र तृतीय हुने प्रतियोगिको साथसाथै कौशल लामिछाने ,न्युटन खनाल ,बिरबहादुर सहनी ,अर्जुन पोख्रेल र एकलब्य झा छानिएको साहयक प्रधानध्यापक झाले बताए । प्रतियोगिताले विद्यार्थीहरूको शब्दभण्डार वृद्धि, बौद्धिक क्षमता तथा अंग्रेजी भाषाप्रतिको रुचि अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

बाईटर एकेडेमीका प्रबन्ध निर्देशक चन्द्र दास चौहानको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी रहनुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरूको बौद्धिक तथा सिर्जनात्मक क्षमता विकासका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताउनुभयो। विद्यालयस्तरको शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी अतिरिक्त तथा सह–शैक्षिक गतिविधिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले स्क्रायबलजस्ता खेल तथा प्रतियोगिताले विद्यार्थीको शब्दज्ञान, स्मरणशक्ति, एकाग्रता र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

स्थानीय तहले समेत शिक्षा क्षेत्रको गुणस्तर सुधार र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो। कार्यक्रममा बाईटर एकेडेमीका प्रधानाध्यापक राजु कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी तथा शिक्षक प्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले विद्यार्थीलाई पढाइसँगै विभिन्न बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउन विद्यालयहरूले विशेष ध्यान दिनुपर्ने बताए ।यस अवसरमा बारा जिल्ला स्क्रायबल क्लबका बोर्ड सदस्य भोजराज सुवेदी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेल ,लोटस एकेडेमीका संस्थापक प्रिन्सिपल रामप्रसाद अधिकारी, एस.पी.ई.एस.का प्रिन्सिपल बसन्त ढकाल, बारा जिल्ला स्क्रायबल क्लबका जिल्ला संयोजक सुवास श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले स्क्रायबल प्रतियोगिता विद्यार्थीको बौद्धिक विकाससँगै भाषा सिकाइलाई प्रभावकारी बनाउन उपयोगी माध्यम रहेको बताएका थिए। यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जिल्लास्तरबाट प्रदेश तथा राष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरेका थिए। विद्यालयहरूबीच भएको प्रतिस्पर्धाले विद्यार्थीहरूमा आपसी चिनजान, अनुभव आदानप्रदान तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको सहभागी शिक्षकहरूले बताएका छन्।