बारा १८ भाद्र
नागरिकमा आधारभूत कानुनी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले बाराको प्रसौनी गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयमा कानुनी सचेतना अभियान सञ्चालन भइरहेको छ।
“कानुनी ज्ञान, सचेत समाजको पहिचान” र “कानुन जानौँ, सचेत रहौँ” भन्ने नारासहित सञ्चालन भइरहेको अभियानअन्तर्गत स्थानीय बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई उनीहरूका अधिकार, कर्तव्य र कानुनी उपचारका विषयमा जानकारी गराइँदै आएको छ।
पूर्वाञ्चल विश्वविद्यालयमा बी.ए.एलएल.बी चौथो वर्षमा अध्ययनरत ममता यादव, एस.एम. कल्पना, चित्र छाया सहनी र जुली मण्डलको सहभागितामा अभियान सञ्चालन भइरहेको हो। सचेतना कार्यक्रम अघि विद्यार्थीहरूले प्रसौनी गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म पुगेर स्थानीय समुदायसँग छलफल गर्दै उनीहरूले भोगिरहेका सामाजिक तथा कानुनी समस्याबारे जानकारी संकलन गरेका थिए।
स्थानीयस्तरबाट संकलन गरिएका समस्या तथा आवश्यकताका आधारमा विभिन्न स्थानमा लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको विद्यार्थीहरूले बताएका छन्।
यसैक्रममा बुधबार प्रसौनी वडा नं.२ स्थित बेंगा साह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई मौलिक अधिकार तथा कर्तव्य, बाल अधिकार, महिला तथा बालबालिकामाथि हुने हिंसा, साइबर अपराध र लागूऔषधसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको थियो।
कार्यक्रममा कानुन अदालतमा मुद्दा पर्दा वा विवाद उत्पन्न हुँदा मात्र आवश्यक पर्ने विषय नभई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले प्रत्येक व्यक्तिमा आधारभूत कानुनी ज्ञान हुनुपर्नेमा जोड दिइएको थियो।
अभियानमार्फत गाउँपालिकाका विभिन्न समुदाय र विद्यालय तहसम्म कानुनी सचेतनाको पहुँच विस्तार गरी नागरिकलाई आफ्ना अधिकार तथा कर्तव्यबारे जानकार बनाउने र कानुनी समस्या पर्दा उपलब्ध उपचार तथा प्रक्रियाबारे जानकारी गराउने लक्ष्य राखिएको छ।




