रञ्जन यादब /बारा १६ भाद्र
रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बाराको जीतपुरसिमरा–१, सिमरास्थित अक्षरा पाठशाला परिवारले आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीप्रति सहानुभूति व्यक्त गर्दै अक्षरा पाठशाला परिवारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको अक्षरा पाठशाला स्कुल सिमराका सञ्चालक ऋषि काफ्लेले जानकारी दिनुभयो ।विपद्को यस दुःखद घडीमा आफ्नो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने र उनीहरूमा आशाको सञ्चार गर्न सक्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।
अक्षरा पाठशाला परिवारले विपद्, दुःख र संकटमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ। मानवता जात, भूगोल वा सम्बन्धको सीमाभन्दा माथि रहेको भन्दै विद्यालयले विपद्मा परेकाहरूलाई सहयोग र सहारा दिनुपर्नेमा जोड दिएको छ।विद्यालय परिवारले रसुवा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै “विपद्मा कोही एक्लो छैन, मानवताको हात सधैँ साथमा छ” भन्ने सन्देशसमेत दिएको छ।




