दुधौरा खोला नजिककोे घरटहरा हटाउन १५ दिने अल्टिमेटम

रञ्जन यादब /बारा १६ भाद्र

डिभिजन वन कार्यालय, बाराले दुधौरा खोला नजिककोे घरटहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।पथलैया सामुदायिक वन क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएका उक्त घरटहरा तथा संरचना हटाई वन क्षेत्र खाली गर्न १५ दिने अल्टिमेटम दिएको हो । बन कार्यालयले सूचना जारी गर्दै वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण गरेर बसोबास तथा व्यवसाय सञ्चालन गर्नु प्रचलित कानुनविपरीत रहेको जनाएको छ ।

कार्यालयका अनुसार अतिक्रमणमा प्रयोग भएका काठ तथा अन्य मालवस्तु जफत गर्नुका साथै संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही अघि बढाइनेछ।अतिक्रमित क्षेत्रको पूर्वतर्फ दुधौरा खोला, पश्चिमतर्फ पथलैया सामुदायिक वन, उत्तरतर्फ पूर्व–पश्चिम राजमार्ग र दक्षिणतर्फ पथलैया सामुदायिक वनको खयरघारी क्षेत्र रहेको डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाद्धारा जारी सुचनामा उल्लेख छ । वन ऐन, २०७६ को दफा ४९ (ग) बमोजिम वन क्षेत्रमा अनधिकृत रूपमा घरटहरा निर्माण तथा बसोबास गर्न नपाइने कार्यालयले स्पष्ट पारेको छ। डिभिजन वन कार्यालयका अनुसार अतिक्रमित क्षेत्र दुधौरा खोलाको बाढीको उच्च जोखिममा रहेको छ। साथै उक्त क्षेत्र बाघ, हात्तीलगायत वन्यजन्तुको नियमित ओहोरदोहोर हुने कोर क्षेत्रभित्र पर्ने भएकाले मानव बस्ती विस्तार हुँदा जनधनको क्षति तथा वन्यजन्तुसँगको द्वन्द्व बढ्ने जोखिम रहेको छ।

कार्यालयले सो क्षेत्रमा बसोबास तथा संरचना निर्माणका कारण वनजन्य अपराधसमेत बढ्न सक्ने सम्भावना रहेको जनाएको छ। वन क्षेत्र संरक्षण, वन्यजन्तुको सुरक्षित आवागमन र मानवीय सुरक्षालाई ध्यानमा राख्दै अतिक्रमण हटाउन सूचना जारी गरिएको कार्यालयको भनाइ छ।त्यस्तै, भूमि ऐन, २०२१ को आठौँ संशोधनको दफा ५२ ख (४) को खण्ड (ख) र (ग) अनुसार उक्त क्षेत्र नकारात्मक सूचीमा पर्ने भएकाले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत समेत सो जग्गा वितरण गर्न नसकिने डिभिजन वन कार्यालयले जनाएको छ।सूचना टाँस भएको मितिले १५ दिनभित्र आफूले निर्माण गरेका घरछाप्रो तथा टहरा आफैं हटाई वन क्षेत्र खाली गर्न कार्यालयले सम्बन्धितलाई आग्रह गरेको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ बमोजिम कारबाही गरिने डिभिजन बन कार्यालय बाराले जारी सुचनामा चेतावनी दिइएको छ।