रञ्जन यादब /बारा १७ साउन
रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रा.लि. सिमरामा कार्यरत श्रमिकहरूले आफ्नो पारिश्रमिकबाट सहयोग जुटाएका छन् ।सूर्य नेपाल सिमरा प्रतिष्ठानमा कार्यरत २२५ जना श्रमिकले एक दिनको आधारभूत तलब कट्टा गरी कुल २ लाख २७ हजार ६ सय ५५ रुपैयाँ संकलन गरिएको मजदुर नेता बेनि तिमल्सिनाले जानकारी दिनुभयो ।
श्रमिकहरूको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको उहाँले बताउँनुभयो ।नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन (आधिकारिक युनियन) र समग्र उद्योग ट्रेड युनियन नेपालको अगुवाइमा श्रमिकहरूबाट रकम संकलन गरिएको हो । विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई राहत पु¥याउने उद्देश्यले श्रमिकहरूले स्वेच्छिक रूपमा आफ्नो एक दिनको पारिश्रमिक सहयोग गरेका हुन् ।भदौ १७ गते सूर्य नेपाल सिमरा प्रतिष्ठानमा आयोजित कार्यक्रममा दुवै युनियनका प्रतिनिधिले राहतका लागि संकलित रकम जम्मा गरेको चेक तथा भौचर जितपुर–सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको अर्का मजदुर नेता प्रेम बस्नेतले जानकारी दिए ।कार्यक्रममा श्रमिक प्रतिनिधिहरूले विपद्को समयमा राज्य तथा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउनु सबैको साझा दायित्व भएको बताएका थिए ।

आफ्नो श्रमबाट आर्जित पारिश्रमिकको केही हिस्सा विपद् प्रभावितका लागि समर्पण गर्नु सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता भएको उनीहरूको भनाइ थियो । नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन (आधिकारिक युनियन)का अध्यक्ष देवेन्द्र सिटौलाले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरूको पीडामा केही भए पनि मल्हम लगाउने उद्देश्यले श्रमिकहरूबीच सहयोग संकलन गरिएको बताए । उद्योगमा कार्यरत श्रमिकहरूले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको युनियनले जनाएको छ ।संकलित रकम सरकारी राहत कोषमार्फत प्रभावित क्षेत्रमा पुग्ने विश्वास व्यक्त गर्दै श्रमिकहरूले विपद्को घडीमा सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।




