गरिमा चौधरी हत्या प्रकरणमा पाँचबुँदे सहमति अस्वीकार, पथलैया–वीरगन्ज सडक अवरुद्ध

रञ्जन यादब /बारा ०६ भाद्र

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रशासन, जनप्रतिनिधि, राजनीतिक दल र पीडित पक्षका प्रतिनिधिबीच भएको पाँचबुँदे सहमति पीडित परिवारले अस्वीकार गरेको छ । पीडित परिवारले सहमति नमान्ने अडान लिएपछि मंगलबार बिहान ११ बजेदेखि अवरुद्ध त्रिभुवन राजपथअन्तर्गत पथलैया–वीरगन्ज सडकखण्ड शुक्रबारसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

सडकमा पीडित परिवारसहित स्थानीयले धर्ना जारी राखेका छन् ।बिहीबार राति सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा भएको वार्तामा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा पीडित परिवारका प्रतिनिधिको सहभागिता थियो ।वार्तामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गर्ने, अनुसन्धानका क्रममा थप दोषी भेटिए कानुनअनुसार कडा कारबाही गर्ने, जिल्लाको सुरक्षा चुनौती विश्लेषण गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने र घटनामा जिम्मेवार प्रहरी अधिकृतलाई कारबाही गर्ने सहमति भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापाको सरुवा भइसकेको छ ।वार्तापछि नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले सडकमा धर्नारत परिवारलाई सहमतिबारे जानकारी गराए पनि मृतक बालिकाका बुवा मनोज र आमा मनमती चौधरीले सहमति स्वीकार गर्न अस्वीकार गरेका छन् । उनीहरूले आफूहरूलाई वार्ताबारे पूर्वजानकारी नदिइएको भन्दै दोषीलाई आफ्नै हातमा बुझाउनुपर्ने तथा प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री स्वयं उपस्थित भएर न्यायको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।यसअघि आन्दोलनरत पक्ष र जनप्रतिनिधिबीच भएको छलफलबाट पीडित परिवारको तर्फबाट बालिकाका हजुरबुवा हरेराम चौधरीलाई वार्तामा प्रतिनिधि तोकिएको थियो । पीडित परिवारको सहमतिमै प्रतिनिधि चयन गरेर वार्ता गरिएको वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङको भनाइ छ ।

आन्दोलनकी अगुवा शिला खनालले पनि पीडित परिवारले हरेराम चौधरीलाई अधिकार दिएर पठाएपछि मात्रै वार्ता भएको बताएकी छन् ।तर, अहिले बालिकाका बुवा र आमाले पाँचबुँदे सहमति अस्वीकार गरेपछि सर्वपक्षीय वार्ताबाट निकालिएको सहमति कार्यान्वयन हुने वा नहुने विषय अन्योलमा परेको छ । सडक अवरोधका कारण पथलैया–वीरगन्ज सडकखण्डमा यातायातसमेत प्रभावित भएको छ ।