सरकार र पीडित पक्षबीच तीन बुँदे सहमतिपछि गरिमाको गरियो अन्तिम अन्तेष्टि

रञ्जन यादब /बारा ०७ साउन

सरकार र पीडित पक्षबीच तीन बुँदे सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको आइतबार दिउँसो धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।गरिमाको पार्थिव शरीरको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको हो। कलैया अस्पतालमा राखिएको शव उनका बुवा मनोज चौधरीले बुझेपछि परिवारजनले अन्तिम संस्कारका लागि पसाहा खोला पु¥याएका थिए।

सरकारसँग भएको सहमतिपछि काठमाडौंमा रहेका मनोज चौधरी फर्किएलगत्तै प्रहरीले उनलाई कलैया अस्पताल पु¥याई छोरीको शव बुझ्ने तथा अन्त्येष्टिको आवश्यक व्यवस्था मिलाएको जनाएको छ।अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सरोज निरौला तथा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टलगायत सुरक्षा निकायका प्रतिनिधि र परिवारजनको उपस्थिति रहेको थियो।यसअघि शनिबार राति गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच भएको वार्तापछि तीन बुँदे सहमति भएको थियो।

सहमतिअनुसार जघन्य अपराधसम्बन्धी विद्यमान कानुनमा रहेका कसुर र सजायका व्यवस्थाको पुनरावलोकन गरी नयाँ कानुन निर्माणका लागि सुझाव दिन सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय समिति गठन गरिने भएको छ।त्यस्तै, गरिमाको स्मृतिमा शालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पहल गर्ने तथा बालिकाको धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने विषयमा पनि सहमति भएको थियो।सहमति कार्यान्वयनको प्रतिबद्धतासँगै विगत बुधबार बिहानदेखि अवरुद्ध रहेको पथलैया–वीरगञ्ज सडकखण्ड शनिबार राति १ बजेदेखि पुनः सञ्चालनमा आएको छ। गरिमाका दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीय बासिन्दाले लगातार प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए।

गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव तीन दिनपछि घरबाट करिब २ सय मिटर दक्षिणमा रहेको एक खाली घरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।घटनाको अनुसन्धानका क्रममा प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय एक बालक र जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार नियन्त्रणमा रहेका १६ वर्षीय बालकले चकलेटको प्रलोभन देखाएर बालिकालाई एकान्त स्थानमा लगेको र बलात्कारपछि डोरीले घाँटी कसेर हत्या गरेको बयान दिएका छन्।