अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्तरोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

रञ्जन यादव /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्तरोगसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा एलिफेन्ट भिलेज रिसोर्टको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ र २२ का स्थानीयवासीलाई लक्षित गरी आयोजित कार्यक्रममा दैनिक जीवनमा आइपर्ने स्वास्थ्य समस्या, आपत्कालीन अवस्थामा गरिने प्राथमिक उपचारका उपाय तथा यौनजन्य (गुप्तरोग) सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

प्राथमिक उपचारसम्बन्धी प्रशिक्षणका क्रममा प्रशिक्षक पिताम्बर कोइरालाले दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या पर्दा एम्बुलेन्स वा स्वास्थ्यकर्मी नआउँदासम्म सही तरिकाले प्राथमिक उपचार गर्न सके बिरामीको ज्यान बचाउन सकिने बताउनुभयो। उहाँले घाउ–चोट, अत्यधिक रक्तश्राव, हड्डी भाँचिएको अवस्था, बेहोस हुने, सर्पदंशलगायतका घटनामा अपनाउनुपर्ने प्राथमिक उपचारका व्यावहारिक विधिबारे सहभागीलाई प्रशिक्षण दिनुभएको थियो।

त्यसैगरी गुप्तरोगसम्बन्धी प्रशिक्षक आयुष्मा भट्टराईले यौनजन्य रोगका कारण, लक्षण, रोकथामका उपाय तथा समयमै स्वास्थ्य परीक्षण र उपचारको महत्वबारे जानकारी गराउनुभयो। उहाँले गुप्तरोग लुकाएर बस्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परामर्श र उपचार लिन तथा सुरक्षित व्यवहार अपनाउन सबैलाई आग्रह गर्नुभयो।

अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विनयकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा सदस्य जमुना गौतम, अमलेखगञ्ज स्वास्थ्य चौकी प्रमुख अप्सरा तिवारी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जका सहायक प्रधानाध्यापक रोहितबहादुर घिसिङ तामाङ, एन्जल फाउन्डेसनका प्रतिनिधिहरू तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सचेतना नै रोग रोकथामको सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले प्राथमिक उपचार र आधारभूत स्वास्थ्यसम्बन्धी ज्ञान प्रत्येक नागरिकका लागि आवश्यक रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायलाई सुरक्षित, सचेत र स्वस्थ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले प्राथमिक उपचारसम्बन्धी सीप र गुप्तरोगबारे प्राप्त जानकारीले व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले आपत्कालीन अवस्थामा जीवन रक्षा गर्न आवश्यक ज्ञान प्रदान गर्नुका साथै समाजमा स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

कार्यक्रममा प्राविधिक सहयोग गरेको एन्जल फाउन्डेसन वि.सं. २०७९ मा मोरङको उर्लाबारी–७ मा केन्द्रीय कार्यालय स्थापना भई सञ्चालनमा आएको सामाजिक संस्था हो। फाउन्डेसनले नेपालभर स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, प्राथमिक उपचारसम्बन्धी सचेतना, गुप्तरोग अभिमुखीकरण तथा सरसफाइजस्ता जनहितकारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।