रञ्जन यादव /बारा ०१ साउन
बारास्थित रिलायन्स चिनी मिल्समा कार्यरत स्थायी कर्मचारीलाई सेवाबाट हटाएर करार प्रणालीमा काम गर्न दबाब दिइएको आरोप सार्वजनिक भएपछि मिल्सभित्र श्रम विवाद चर्किएको छ। कलैया उपमहानगरपालिका वडा नं.२४ स्थित उक्त उद्योगमा करिब दुई दशकदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दुई जना स्थायी कर्मचारीले आफूहरूलाई स्थायी सेवाबाट हटाई करारमा काम गर्न बाध्य पार्न खोजिएको भन्दै विरोध जनाएका हुन्।
प्रभावित कर्मचारी हरेन्द्र राउत अहिर र जौआद अन्सारीका अनुसार आफूहरूलाई कुनै स्पष्ट कारणबिना काममा हाजिर हुन रोक लगाइएको छ। उनीहरूले पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको, झुटा मुद्दामा फसाएर पक्राउ गराएको तथा अदालतबाट रिहा भएपछि पनि काममा फर्किन नदिई स्थायी पदबाट राजीनामा दिएर करार सेवामा आउन दबाब दिएको आरोप लगाएका छन्।

उनीहरूका अनुसार लामो समयदेखि स्थायी कर्मचारीका रूपमा सेवा दिँदै आए पनि अहिले श्रमिक अधिकारविपरीत स्थायी सेवाबाट हटाएर करार प्रणाली लागू गर्ने प्रयास भइरहेको छ। यसले आफ्नो रोजगारीको सुरक्षा र श्रम अधिकारमाथि गम्भीर असर पर्ने उनीहरूको भनाइ छ।मिल्स युनियनका नेता सुरेश चौधरीले पनि स्थायी कर्मचारीलाई विस्थापित गरी करार प्रणाली लागू गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार यदि व्यवस्थापनले स्थायी सेवाबाट हटाउने निर्णय गरेको हो भने त्यससम्बन्धी आधिकारिक पत्र उपलब्ध गराउन आग्रह गरिएको भए पनि हालसम्म कुनै पत्र दिइएको छैन।
चौधरीले आइतबार श्रमिक पक्ष र व्यवस्थापनबीच वार्ताको समय तय भएको जानकारी दिँदै वार्ताबाट श्रमिकको हितअनुसार निर्णय नभए तथा दुवै कर्मचारीलाई पुनः काममा हाजिर नगराइए आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए।श्रमिक पक्षका अनुसार पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवविरुद्ध पटक–पटक गुनासो आएपछि मिल्स प्रशासनले उनलाई जिम्मेवारीबाट हटाएको थियो। यद्यपि, आफूहरूमाथि भएको अन्यायको समस्या भने अझै समाधान नभएको उनीहरूको भनाइ छ।




