रञ्जन यादब /बारा ०२ साउन
विश्व कोरा डे २०२६ को अवसरमा बाराको जितपुरसिमरा क्षेत्रमा आयोजित ’सिमरा कोरा २०२६’ मा सयौँको सङ्ख्यामा साइकलयात्रीहरूको उत्साहजनक सहभागिता भएको छ। “साइकल, संस्कृति र सम्पदाको संगम“ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूले सिमरा आसपास रहेका विभिन्न पवित्र धार्मिक तथा ऐतिहासिक स्थलहरूको साइकलमार्फत परिक्रमा गरेका थिए।
जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारीले सिमरामा रिबन काटेर साईकल यात्राकोे सुरुवात गर्नुभएको थियो । कार्यक्रमले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवद्र्धनसँगै वातावरण संरक्षण र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने सन्देश दिएको आयोजकले जनाएको छ।सहभागीहरूले सामूहिक रूपमा साइकल यात्रा गर्दै प्राकृतिक सम्पदाको संरक्षण, प्रदूषण न्यूनीकरण र दिगो यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कोरा यात्राले स्थानीय सम्पदाको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।विश्वभर एकै दिन मनाइने विश्व कोरा डे अन्तर्गत सिमरामा पनि भव्य रूपमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न उमेर समूहका साइकलप्रेमी, युवायुवती, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।आयोजकका अनुसार यस्ता कार्यक्रमले स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण र सांस्कृतिक सम्पदाको प्रवद्र्धनलाई एकसाथ जोड्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।




