समयमै काम सम्पन्न नगरेपछि जीतपुरसिमराले दुई भवन निर्माणको ठेक्का रद्द

रञ्जन यादब /बारा ३० जेठ

जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्यमा लापरवाही देखिएको भन्दै दुई वटा भवन निर्माण योजनाको ठेक्का सम्झौता रद्द गरेको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न नगरेको तथा पटक–पटकको आग्रह र सूचनापछि पनि निर्माण पक्षबाट आवश्यक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो।

आर्थिक वर्ष २०८१÷०८२ मा सम्झौता भएका वडा नं. ७ स्थित फकिरागिरी विद्यालय भवन र वडा नं. १२ को वडा कार्यालय भवन निर्माणको जिम्मा पर्साको एन. के. कन्स्ट्रक्सनले लिएको थियो। तर सम्झौताअनुसार तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै दुवै ठेक्का सम्झौता अन्त्य गरेको पुर्बधार बिकाश शाखा प्रमुख अभयकान्त झाले जानकारी दिए ।

निर्माण कम्पनीलाई कामको प्रगति, स्रोत व्यवस्थापन तथा कार्य सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धतासहित उपस्थित हुन आग्रह गर्दै वैशाख २२ गते १५ दिने स्पष्टीकरण सूचना जारी गरिएको थियो। तर उक्त अवधिमा कम्पनीका तर्फबाट न त सन्तोषजनक जवाफ प्राप्त भयो, न त निर्माण कार्यलाई गति दिने कुनै ठोस योजना पेश गरियो। कानुनी व्यवस्था तथा ठेक्का सम्झौताका सर्तहरूअनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्झौता अन्त्य गरिएको जानकारी दिए। ईन्जिनीयर झाका अनुसार निर्माण कम्पनीले निरन्तर बेवास्ता गरेकाले उपमहानगरपालिकालाई यस्तो निर्णय लिन बाध्य बनाएको हो।

ठेक्का रद्द भएसँगै अब सम्पन्न भएको कामको प्राविधिक मूल्यांकन, नापजाँच तथा वित्तीय हिसाब–किताबको प्रक्रिया अघि बढाइने जनाइएको छ। साथै सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम थप कानुनी प्रक्रिया पनि अगाडि बढाइने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्माण व्यवसायी वा उसका आधिकारिक प्रतिनिधिलाई कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरेको यो पहिलो घटना हो । विकास निर्माणका काममा ढिलासुस्ती गर्ने तथा सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने निर्माण कम्पनीमाथि भविष्यमा पनि कडा कदम चालिने र आवश्यक परे कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल दिएका छन् ।