एभरेष्ट लेदर कम्पनीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा विस्फोट भई मजदुरको मृत्यु

रञ्जन यादब /बारा २९ बैशाख

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट लेदर कम्पनीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा भएको विस्फोटमा गम्भीर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

गत वैशाख २२ गते अपराह्न करिब ४ः३० बजे उद्योगभित्र विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा ट्रान्सफर्मर अचानक पड्किँदा मिस्त्रीको काम गर्दै आएका पर्साका बहुदरमाई नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय चनरदिप यादव गम्भीर घाइते भएका थिए। विस्फोटका कारण यादवको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई तत्काल वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेकाले सोही दिन साँझ ५ः१० बजे थप उपचारका लागि काठमाडौंस्थित बर्न कान्तिपुर अस्पताल रिफर गरिएको थियो।

उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो। घटनाको खबर प्रहरी चौकी गण्डक, पर्सामार्फत प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

यता मृतकका परिवारजन तथा स्थानीय बासिन्दाले उद्योग र सम्बन्धित कम्पनीको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन्।