रञ्जन यादब /बारा ३० बैशाख
बाराको जीतपुर स्थित जीतपुरसिमरा उपमहानगरपालिका–७ क्षेत्रमा मंगलबार बजार अनुगमन हुने हल्ला फैलिएपछि व्यवसायीहरूले धमाधम पसल बन्द गरेका छन् ।
अनुगमन टोली आउने त्रासका कारण अधिकांश व्यापारिक प्रतिष्ठान बन्द हुँदा दिनभरि जीतपुर बजार सुनसान बनेको देखिएको थियो । खाद्यान्न, किराना, कपडा, होटल तथा अन्य दैनिक उपभोग्य सामग्रीका पसलहरू समेत एक्कासी बन्द भएपछि बजार गर्न आएका सर्वसाधारण ग्राहकहरू आवश्यक सामग्री खरिद गर्न नपाई रित्तै घर फर्किन बाध्य भएका थिए । बजार क्षेत्रमा असामान्य शान्त अवस्था देखिएको थियो भने मुख्य सडकहरूमा समेत सामान्य दिनको तुलनामा निकै कम चहलपहल देखिएको स्थानीयहरूले बताएका छन् ।स्थानीय व्यवसायीहरूका अनुसार बजार अनुगमन हुने भन्ने सूचना आपसी कुराकानीमार्फत तीव्र रूपमा फैलिएपछि व्यापारीहरू त्रसित बनेका थिए ।

कतिपय पसलेहरूले सरकारी ड्रेससँग मिल्दोजुल्दो पोशाक लगाएका व्यक्तिहरू बजार क्षेत्रमा देखिएपछि उनीहरूलाई अनुगमनकारी निकायका प्रतिनिधि ठानेर हतार–हतार पसल बन्द गरेका थिए ।यद्यपि दिनभर बजार क्षेत्रमा कुनै आधिकारिक अनुगमन टोली नपठाएको अनुगमनकारी निकायहरुले बताएका छन् ।अनुगमन हुने निश्चित जानकारी नहुँदा पनि “कहीं जरिवाना वा कारबाहीमा परिने हो कि” भन्ने डरले धेरै व्यवसायीले सावधानीस्वरूप पसल बन्द गरेको जनाइएको छ ।बेलुकातिर बजारमा अनुगमनकारी निकाय नआएको पुष्टि भएपछि विस्तारै पसलहरू पुनः खुल्न थालेका थिए ।
केही व्यवसायीहरूले हल्ला र त्रासका कारण अनावश्यक रूपमा व्यापार प्रभावित भएको गुनासो गरेका छन् ।स्थानीयवासीहरूले बजार अनुगमन आवश्यक र सकारात्मक कार्य भए पनि पूर्वसूचना, स्पष्ट जानकारी तथा व्यवस्थित समन्वय बिना हुने हल्ला र त्रासले सर्वसाधारण तथा व्यवसायी दुवैलाई समस्या पर्ने गरेको बताएका छन् । सोमबार मात्र जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा आएको टोलीले सिमरा बजार अनुगमन गरी केही ब्यक्तिलाई जरिवाना र चेतावनी दिई छोडेको थियो ।



