पर्सा राष्ट्रिय निकुञ्जमा बन्यजन्तु संरक्षण केन्द्र उद्घाटन, सञ्चारकर्मीसँग अन्तरक्रिया

रञ्जन यादब /बारा ०६ बैशाख

पर्सा राष्ट्रिय निकुञ्ज ले ३१ औँ बन्यजन्तु सप्ताह २०८३ को अवसर पारेर बारा, पर्सा र मकवानपुर जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम तथा बन्यजन्तु उद्धार केन्द्र सञ्चालनार्थ उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। “सुरक्षित मानिस, संरक्षित बन्यजन्तु र जैविक विविधताको सदुपयोग समृद्धिको सेतु” भन्ने नारालाई व्यवहारमा उतार्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नु तथा संरक्षण कार्यलाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ।निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा ले पछिल्लो समय वन्यजन्तु संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै संरक्षण र विकासबीच सन्तुलन कायम गर्न आवश्यक रहेको बताए। उनले वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा आएपछि घाइते तथा जोखिममा परेका जनावरको तत्काल उपचार, संरक्षण र पुनः प्राकृतिक वासस्थानमा फर्काउने कार्य सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष सिताराम अर्याल, सबुज गण आधाभारका प्रमुख सेनानी अनुप सिंह बस्नेत, अम्लेश्वर मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष राजकुमार मानन्धर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष सुबाश श्रेष्ठ ,संरक्षण अधिकृत संतोष भगत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला ,रेञ्जर जयराम न्यौपाने लगायतको सहभागिता रहेको थियो।उक्त अवसरमा बन्यजन्तु उद्धार केन्द्र (हात्तीसार) को उद्घाटन राजन पौडेल, नगर प्रमुख, जीतपुरसिमरा उपमहानगरपालिका ले गरेका हुन्। उनले स्थानीय तह र निकुञ्जबीचको सहकार्यले संरक्षण अभियान थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै मानव–वन्यजन्तु सहअस्तित्वलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले निकुञ्जलाई आवश्यक परेको खण्डमा बिपत ब्यवस्थापनको तालिम समेत लिईसकेका नगर प्रहरी र पशु चिकित्सकको सहयोग पनि प्रदान गर्न सकिने प्रतिबधता जनाए ।

 

कार्यक्रममा वक्ताहरूले वन्यजन्तु संरक्षण, अवैध सिकार नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने विषयमा जोड दिएका थिए। साथै, सञ्चारकर्मीहरूको भूमिका संरक्षण सन्देशलाई आम नागरिकसम्म पु¥याउन महत्वपूर्ण हुने उल्लेख गर्दै तथ्यमा आधारित र सचेतनामूलक सामग्री प्रसारण गर्न आग्रह गरिएको थियो।निकुञ्ज प्रशासनका अनुसार नयाँ स्थापना गरिएको उद्धार केन्द्रले दुर्घटनामा परेका, बस्तीमा छिरेका वा अन्य कारणले जोखिममा रहेका वन्यजन्तुको उद्धार, उपचार तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अन्तरक्रिया हुनुपुर्ब सञ्चारकर्मिहरुलाई पर्सा राष्ट्रिय निकुञ्जको अध्ययन तथा अवलोकन गराईएको थियो ।