रञ्जन यादब /बारा ०५ बैशाख
जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न र वैशाख १४ गतेदेखि नियमित कक्षा सुरु गर्न निर्देशन दिएको छ ।यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभर वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न परिपत्र जारी गरेको थियो। तर उक्त समयसीमा लागू गर्दा व्यवहारिक समस्या देखिने भन्दै उपमहानगरले वैकल्पिक निर्णय लिएको जनाएको छ।
उपमहानगरपालिकाका अनुसार स्थानीय सरोकारवालाहरूले ढिलो मिति तय गर्दा विद्यार्थीको अध्ययनमा अवरोध हुने, पाठ्यक्रमअनुसार वार्षिक कार्यघण्टा अपुग हुने, शिक्षाको गुणस्तर खस्किने तथा विद्यालय सञ्चालनका दिन पर्याप्त नहुने चिन्ता व्यक्त गरेका थिए। सोही सुझावका आधारमा भर्ना र कक्षा सञ्चालन छिटो सुरु गर्ने निर्णय गरिएको हो।वैशाख ३ गते नगर प्रमुखस्तरबाट गरिएको निर्णयअनुसार हप्तामा दुई दिन (शनिबार र आइतबार) विद्यालय बन्द रहनेछन् भने शुक्रबारसमेत बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पूरा समय कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।यता, संघीय सरकारको परिपत्रभन्दा फरक निर्णय स्थानीय तहले गर्न थालेपछि देशभर एकरूप शैक्षिक प्रणाली कार्यान्वयनमा चुनौती थपिने देखिएको छ।

