रञ्जन यादब/बारा ०३ बैशाख
बाराको जीतपुरस्थित गौशालाको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालनमा रहेका पसल तथा संरचनाहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हटाएको छ। वडा नं. ७ अन्तर्गत ६ लेन सडक नजिकै रहेका ती अवैध संरचनामाथि उपमहानगरपालिकाले अटेरी गरी बसेमा डोजर चलाउँने चेतावनी दिएपछि ब्यपारिहरु आफैँ सक्रिय भएर हटाएका हुन् ।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन वैशाख २ गतेसम्मको समयसीमा तोकेको थियो। समयसीमाको अन्तिम दिन केही व्यवसायीहरूले स्वेच्छाले आफ्ना संरचना हटाए पनि केहीले अटेरी गरेपछि उपमहानगरपालिकाको टोली डोजरसहित स्थलमा पुगेको थियो। टोलीले तत्काल संरचना नहटाए डोजर लगाएर हटाइने चेतावनी दिएपछि सुरुमा केही व्यापारीले प्रतिकार गर्ने प्रयास गरेका थिए। तर नगर प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त उपस्थितिले अवस्था नियन्त्रणमा लिएको थियो। त्यसपछि अतिक्रमणकारी व्यवसायीहरू आफैंले आफ्ना संरचना हटाउन थालेका थिए।
संरचना हटाउने क्रममा नगर प्रहरीले व्यवसायीहरूलाई सहजीकरणसमेत गरेको थियो। अतिक्रमित क्षेत्र खाली गरिएसँगै त्यहाँ सञ्चालनमा रहेका मासु पसल, खाजाघर, कबाड संकलन केन्द्र, भेटेनरी पसल तथा गुटखा, चुरोट र पेय पदार्थ बिक्री गर्ने पसलहरू पूर्ण रूपमा हटाइएको छ। यसैबीच, प्रभावित व्यवसायीहरूले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने, भविष्यमा सटर निर्माण हुँदा प्राथमिकता दिनुपर्ने तथा आफैंले सफा गरेर बस्न योग्य बनाएको स्थानमा पुनः व्यवसाय सञ्चालनको अवसर दिनुपर्ने माग राखेका छन्। उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थित सहर निर्माणका लागि यस्ता अतिक्रमणविरुद्ध कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

