रञ्जन यादब /बारा २६ चैत्र
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयद्वारा श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया भवानीपुरका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
बिहीबार आयोजित कार्यक्रममा वडा अध्यक्ष प्रमुख अतिथिको रुपमा दिपेन्द्र चौधरी उपस्थित भई विद्यार्थीहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्न सामग्री वितरण गरेका थिए। कार्यक्रममा वडा सदस्य ईश्वर चौधरी विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए भने विद्यालयका खेलाडी विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा फुटबल खेलका लागि आवश्यक बुट, मोजा तथा प्याड गरी जम्मा ४० थान सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। उक्त सामग्रीले विद्यालयका खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगितामा सहभागी हुन सहज हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमले गरेका थिए। उनले यस्ता सहयोगले विद्यार्थीहरूको प्रतिभा विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।वडा अध्यक्ष चौधरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय तहले शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

