लागू औषध अफिमसहित दुई जना अमलेखगंजबाट पक्राउ

रञ्जन यादब /बारा २५ चैत्र

बाराको अमलेखगंजबाट लागू औषध अफिमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सुराकीका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र इलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित कल्पवृक्ष होटल अगाडि हेटौंडा–अमलेखगञ्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्ग बहादुर मोक्तान र सोही स्थानका ४९ वर्षीय लाल बहादुर स्याङतान रहेका छन्।प्रहरीले उनीहरूको शरीर तलासी लिँदा लाल बहादुर स्याङतानले बोकेको कालो रंगको ‘क्याट’ लेखिएको झोलाभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा अफिमजस्तो देखिने पदार्थ फेला पारेको हो। उक्त पदार्थ बरामद गरी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई कानुन बमोजिम नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।