रञ्जन यादब /बारा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाराले सुरक्षा तयारीलाई तीव्र बनाएको छ।
जिल्लाका कुल ३०५ मतदान स्थलमध्ये १४५ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको प्रहरीले जनाएको छ। यो संख्या कुल मतदान स्थलको झण्डै आधा हो, जसले सुरक्षा चुनौतीलाई संकेत गर्छ।त्यसैगरी १०८ मतदान स्थललाई संवेदनशील र ५२ स्थललाई सामान्य अवस्थाका रूपमा वर्गीकरण गरिएको छ। भौगोलिक विकटता, यातायात पहुँच, विगतका निर्वाचनका घटनाक्रम, सामाजिक–सांस्कृतिक अवस्था तथा पूर्वाधारको स्थितिलाई आधार मानेर मतदान स्थलको वर्गीकरण गरिएको हो।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार संवेदनशीलताको स्तरअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ।
“जहाँ जोखिम बढी छ, त्यहाँ थप जनशक्ति र निगरानी व्यवस्था कडा बनाइनेछ,” उनले बताए। उनका अनुसार निर्वाचन अवधिभर मोबाइल गस्ती, एम्बुस टोली, क्यूआरटी तथा सादा पोशाकका सुरक्षाकर्मी समेत परिचालन गरिनेछन्। बारामा ३०८ मतदान स्थलअन्तर्गत ५८७ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सुरक्षाका लागि करिब १,६०० जना नेपाल प्रहरी र २,६३८ जना म्यादी प्रहरी परिचालन हुनेछन्। थप सुरक्षाका लागि ७ जना प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षकसहित ७६३ जना सुरक्षाकर्मी मद्दतका रूपमा जिल्लामा खटिएका छन्।यसका अतिरिक्त नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल को छुट्टै सुरक्षा टोली पनि परिचालन हुने व्यवस्था मिलाइएको छ।
ती निकायहरूले मतदान केन्द्र बाहिरको घेराबन्दी सुरक्षा, संवेदनशील क्षेत्रमा निगरानी तथा आकस्मिक अवस्थाको प्रतिकार्यका लागि तयारी अवस्थामा रहने जनाइएको छ।प्रहरीले निर्वाचन आचारसंहिता पालना गराउन, अवाञ्छित गतिविधि रोक्न र मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग पु¥याउन सबै सुरक्षा संयन्त्रबीच उच्च समन्वय कायम गरिएको जनाएको छ। साथै मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन र शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।समग्रमा, सुरक्षा निकायहरूले व्यापक जनशक्ति परिचालन, रणनीतिक योजना र निरन्तर निगरानीमार्फत बारामा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पु¥याएका छन्।

