रञ्जन यादब/ बारा
प्रसाैनी उद्योग वाणिज्य संघको सिमरामा भएकाे दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः तुलसी साह दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेको हो।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमरकान्त झा, महासचिवमा राजेश कुश्वाहा, कोषाध्यक्षमा अमित टिवडेवाल र सचिवमा सौरभ गुप्ता चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा सुरेश कुमार गुप्ता, मनोज कलवार, पिंकि टिवडिवाल, अनुपमा गुप्ता, पुष्पा देवी, कन्हैया लाल साह, रामप्रवेश प्रसाद कुर्मी र केदार गौतम निर्वाचित हुनुभएको छ।
संघका संस्थापक संरक्षक तथा प्रसाैनी गाउँपालिकाकाे पुर्ब अध्यक्ष भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने तथा श्रम तथा प्रशासन क्षेत्रका नवलकिशोर यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन तत्कालीन महासचिव केदार गौतमले गर्नुभएको थियो। अधिवेशनमा बोल्दै पुनः निर्वाचित अध्यक्ष साहले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन, सीप तथा क्षमता विकास तालिम सञ्चालन, तथा उद्योगमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। संघले आगामी दिनमा स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।


