एभरग्रिन तराईसिमरा अस्पतालमा बालबालिकाको समग्र वृद्धि तथा विकासकोलागि विशेष शैक्षिक प्रदर्शनी

रञ्जन यादब /बारा

बाराको सिमरास्थित एभरग्रिन तराईसिमरा अस्पताल ले बालबालिकाको समग्र वृद्धि तथा विकाससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा नर्सिङ अध्ययनरत विद्यार्थीहरूले बालबालिकाको उमेरअनुसार आवश्यक हेरचाह, पोषण, खोप तथा खेलकुद गतिविधिबारे जानकारीमूलक कागजी तथा कार्टुन संरचना तयार गरी प्रदर्शन गरेका थिए। प्रदर्शनीमा शिशु अवस्थादेखि किशोरावस्थासम्म बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासका विभिन्न चरणबारे चित्र, चार्ट र सन्देशमूलक सामग्रीमार्फत जानकारी दिइएको अस्पतालका प्रबन्ध निर्देशक डा.प्रकाश साहले जानकारी दिए ।

सन्तुलित आहार, स्तनपानको महत्व, समयमै खोप लगाउनुपर्ने आवश्यकता, नियमित स्वास्थ्य परीक्षण, सरसफाइ, तथा उमेरअनुसार खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागिताको महत्वलाई विशेष रूपमा उजागर गरिएको थियो।कार्यक्रममा श्री नेरामावि सिमरा, लोटस एकेडेमी सिमरा, ब्राईटर एकेडेमी सिमरा तथा गुरुकुल स्कुल बिरगंजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले प्रदर्शनी अवलोकन गर्दै स्वास्थ्यसम्बन्धी जिज्ञासा राखेका थिए भने नर्सिङ विद्यार्थीहरूले सरल र व्यवहारिक शैलीमा उत्तर दिएका थिए।

अस्पतालका बालरोग बिशेषज्ञ डा.गौरब गुप्ताका अनुसार यस्ता कार्यक्रमले बाल स्वास्थ्यप्रति अभिभावक, शिक्षक र विद्यार्थीमा सचेतना बढाउने विश्वास ब्यक्त गरे। बालबालिकाको स्वस्थ भविष्य निर्माणका लागि पोषण, खोप, शिक्षा र सकारात्मक वातावरण अनिवार्य रहेको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक गतिविधि नियमित रूपमा सञ्चालन गर्न सुझाव दिएका थिए।