साढे आठ वर्षपछि आफ्नै भवनमा पुगेको वडा नं. १३ को कार्यालय उद्घाटन

रञ्जन यादव /बारा,

स्थानीय तह स्थापना भएको साढे आठ वर्षपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ ले अन्ततः आफ्नै वडा कार्यालय भवन पाएको छ। बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख राजन पौडेलले नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्दै सेवा प्रवाह सुरु गराएका हुन्।
स्थापना कालदेखि नै सामुदायिक भवनको साँघुरो कोठाबाट सेवा दिँदै आएको वडा नं. १३ अब सुविधा सम्पन्न पाँच कोठे आफ्नै भवनबाट सञ्चालनमा आएको छ। करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनबाट सेवा दिन सुरु भएपछि वडाबासीलाई सहज र व्यवस्थित सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

वडाध्यक्ष हेमनारायण चौधरीले लामो प्रतीक्षापछि आफ्नै भवनबाट सेवा दिन पाउनु वडा र वडाबासी दुवैका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। सीमित स्थानका कारण सेवा प्रवाहमा देखिँदै आएका समस्या अब अन्त्य हुने र थप प्रभावकारी ढंगले काम गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत किरतीराज सुवेदीले कार्यसम्पादन मूल्यांकनमा आफ्नै भवनबाट सेवा सञ्चालन हुनु महत्वपूर्ण आधार मानिने उल्लेख गरे। उनले साना उपभोक्ता समितिहरूले भुक्तानीका लागि नगरपालिकामा धाउनुपर्ने अवस्था अन्त्य गरी वडा कार्यालयबाटै भुक्तानी प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

नगरप्रमुख पौडेलले उपमहानगरका २४ वडामध्ये २२ वडाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको बताए। वडा नं. २४ को भवन साइड क्लियरेन्सका कारण उद्घाटन हुन बाँकी रहेको उनले स्पष्ट पारे। उपमहानगर प्रविधिमैत्री र व्यवस्थित सेवा प्रवाहतर्फ अघि बढिरहेको उनको भनाइ थियो।
उद्घाटन कार्यक्रममा समाजसेवी रुपलाल चौधरीले वडा सानो भए पनि विकास निर्माणका थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै यसलाई नमुना वडा बनाउने गरी योजना अघि बढाउन आग्रह गरे। कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल र वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन वडा सचिव अनिल पासवानले गरेका थिए।