जीतपुरसिमरामा चितवन फेन्सी संघको अध्ययन तथा अवलोकन भ्रमण , महासचिव गिरीले गरे स्वागत 

रञ्जन यादब /बारा
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, जीतपुरका महासचिव प्रकाश गिरीले अध्ययन तथा अवलोकनका लागि जीतपुर आइपुगेको चितवन फेन्सी ब्यवसायी संघको टोलीलाई स्वागत तथा सम्मान गरेका छन् ।
महासचिव गिरीले आफ्नो कार्यालयमा चितवन फेन्सी संघका अध्यक्ष रामप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीलाई औपचारिक रूपमा स्वागत गर्दै जीतपुरसिमरा उपमहानगर क्षेत्रमा फेन्सी व्यवसायको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे जानकारी गराएका थिए ।
भेटघाटका क्रममा दुबै संघका प्रतिनिधिबीच फेन्सी व्यवसाय सञ्चालनका अनुभव, सिकाइ, भोगाइ तथा पछिल्लो समय बजारमा देखिएका उतार–चढावका विषयमा गहन छलफल र अनुभव आदान–प्रदान भएको थियो ।
सो अवसरमा महासचिव गिरीले जीतपुरसिमरामा सञ्चालनमा रहेका फेन्सी व्यवसायहरूको अवस्था प्रत्यक्ष अवलोकन गराउँदै व्यवसाय प्रवर्द्धनका लागि स्थानीय तह, व्यवसायी र संघसंस्थाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
चितवन फेन्सी संघका अध्यक्ष पौडेलले जीतपुरसिमराको बजार संरचना, व्यवसायिक अभ्यास र संघको भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै यस्तो अध्ययन भ्रमणले दुबै पक्षलाई नयाँ सिकाइ र आपसी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
भ्रमण टोलीले आगामी दिनमा यस्ता अन्तर–जिल्ला व्यवसायिक भ्रमण तथा अनुभव आदान–प्रदानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।