डुमरबानामा पाँचौं जिल्ला स्तरीय स्क्रायबल च्याम्पियन प्रतियोगिता सम्पन्न

रञ्जन यादब /बारा

बाराको डुमरबानामा स्क्रायबल क्लब बाराको आयोजना र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरबानाको संयोजनमा पाँचौं जिल्ला स्तरीय स्क्रायबल च्याम्पियन प्रतियोगिता–२०२५ सम्पन्न भएको छ ।कार्यक्रमका वक्ताहरुले स्क्रायबल खेलले विद्यार्थीको बुद्धिमा बृद्धि भई पढाइ र सिकाइ दुबैलाई अघि बढाएको उल्लेख गरे । प्रतियोगितामा १६ वटा विद्यालयका ३२ जनाको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संस्थागत विद्यालयहरुको हक हितलाई मध्यनजर गर्दै उपमहानगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताए । उनले उपमहानगरपालिकाको बजेट निर्माण चरणमा रहेको समयमा प्रतियोगिता वा आवश्यक गतिविधिका लागि ८० प्रतिशत उपमहानगरपालिकाले र २० प्रतिशत आयोजक संस्थाले व्यहोर्ने गरी रकम छुट्याउने व्यवस्था गर्न सकिने उल्लेख गरे । साथै, उपमहानगरपालिकालाई मञ्चमै आलोचना गर्ने मात्र नभई समयमै सल्लाह सुझावका लागि कार्यालयमा आउन सहभागीलाई आग्रह गरे ।राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल किशोर बाबु श्रेष्ठले गरेका थिए ।