रञ्जन यादब /बारा
बाराको जीतपुरमा लाग्दै आएको १८औँ श्री गणेश चतुर्थी पूजा भोलि बुधबारदेखि सुरु हुने भएको छ । आयोजक श्री सिद्धिविनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यसवर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती, घोडा र बाजागाजा सहित शोभायात्रा निकालेर पूजाको सुरुवात गरिने समितिले जनाएको छ।
समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गत वर्षभन्दा यसपटक १० किलो बढी लड्डु थपेर २ सय ६१ किलोको लड्डु बनाइएको छ। प्रत्येक दिन पूजामा ५० किलो लड्डु प्रसादस्वरूप वितरण गरिने उपाध्यक्ष जयसागर सहनीले जानकारी दिए। उनका अनुसार यो वर्ष पूजामा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पाँच दिनसम्म निरन्तर चल्ने पूजामा दैनिक भक्तिमय गीतसंगीत र भजनकीर्तन हुनेछन्। राति ११ बजेसम्म पूजामा मनोरञ्जनका लागि झुलुवा, पिङ, ड्रागन पिङ लगायतका सुविधा उपलब्ध गराइने सचिव अशोक दासले बताए। हालसम्म करिब ५ लाख रुपैयाँबराबरको सामग्री सहित नगद चन्दा संकलन भएको समितिले जनाएको छ।