रञ्जन यादब /बारा
बिरगंजमा हैजा फैलिएको सूचनासँगै परवानीपुर गाउँपालिकाले पनि संक्रमण नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न गरेको छ ।आईतबार गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, एल.एस.न्युरो अस्पतालका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु सहभागी थिए।
बैठकमा बिरगंजमा फैलिएको हैजाले परवानीपुर क्षेत्रमा पार्न सक्ने असर र त्यसको रोकथामका उपायबारे गहन छलफल गरिएको थियो। छलफलपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक र गाउँपालिकामा एक गरी अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ। अनुगमन समितिले नियमित रुपमा स्वास्थ्य अवस्था र सम्भावित जोखिमको निगरानी गर्ने र आवश्यक पूर्वतयारी तथा जनचेतनामूलक कार्यक्रम अघि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।