रञ्जन यादब /बारा
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–०९ छातापिपरा स्थित शाह पेट्रोल पम्प अगाडि बिरगंज पथलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। सिमराबाट वीरगञ्जतर्फ जाँदै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले बाटोको बायाँपट्टि रोकी राखिएको ना ३ ख ३३५३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।दुर्घटनामा पिकअप चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ निवासी ४७ वर्षीय कृष्ण हरि दाहाल घाइते भएका छन्। उनको घाटी र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।त्यस्तै, पिकअपमा सवार वडा नं. १८ बस्ने ३५ वर्षीय श्यामलाल गोलेको हातको पाखुरा, टाउको र छातीमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको र बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ ।दुर्घटनामा घाइते दुवै जनाको परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक भने घटनापछि फरार रहेको र खोजतलासको कार्य भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी नायब निरीक्षक जेजोजन कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। हाल दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन्।

