अम्लेखगंजबाट अवैध सामान सहितको कन्टेनर नियन्त्रणमा

रञ्जन यादब /बारा

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडि बिरगंज–पथलैया सडक खण्डमा एक कन्टेनर ट्रक नियन्त्रणमा लिइएको छ । बिशेष सूचना तथा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले ना.८ ख ७२४२ नम्बरको कन्टेनर रोकी जाँच गर्दा सो ट्रकमा बिल बिजक भन्दा बढी तथा भन्सार नबुझाइ ल्याइएको सामान फेला परेको हो ।

बिरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रकबाट खुद्रा कस्मेटिक, कोकोनट, बदाम (आल्मन्ड), कपडा, सर्जिकल सामान, इलेक्ट्रोनिक सामग्री, मोबाइलका पार्टपुर्जा तथा औषधिजन्य सामग्री लगायतका वस्तुहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।अनुमानित बजार मूल्य १ करोड २५ लाख २४ हजार १० रुपैयाँ बराबरका ती सामानहरू अवैध रूपमा ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साथै ट्रक चालक सर्लाही हरिवन नगरपालिका–४ निवासी ५१ वर्षीय शम्भु प्रसाद न्यौपानेलाई नियन्त्रणमा लिइएको छ ।पक्राउ परेका चालक र बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।