रञ्जन यादब /बारा
जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियाको बकुलिया कलेजमा भएको साधारण सभाको उद्घाटन बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा रु १ करोड ४ लाख ८३ हजार ९४ रुपैया नाफा आर्जन गरेको संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादब जानकारी दिए । शेयर लाभांश कोषमा २९ लाख ८७ हजार ८ सय ७५ रुपैया रहेको छ । संस्थाले १५.३१ प्रतिशत लाभांश बितरण गर्ने जनाएको छ ।
आर्थिक बर्ष २०८०।०८१ मा जनकल्याणले शेयर रकम १ करोड ९५ लाख ९ हजार ५ सय रुपैया रहेकोमा आर्थिक बर्ष २०८१।०८२ मा रु २४ हजार शेयर रकम बृद्धि गरी १ करोड ९५ लाख २१ ह्जार पुरयाउँने लक्ष्य राखेको छ । संस्थामा महिला ४७४ र पुरुष ४५० गरी ९२४ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरुबिच संस्थाले १४ करोड २१ लाख कर्जा परिचालन गरेको छ ।
संस्थाले ५ जना उत्कृष्ट बचतकर्ता र ५ जना उत्कृष्ट कर्जा तिर्नेलाई सम्मान गरेको छ । उत्कृष्ट बचतकर्तामा सरस्वती पाण्डे ,शुसिल दास ,नरेश महरा ,राजेश कुमार साह ,राजेश कुमार साह र अप्सरा अधिकारी रहेका छन् ।त्यस्तै उत्कृष्ट कर्जा तिर्नेमा स्वायत अंसारी ,जरिना खातुन ,कमला ढकाल ,सोबैदा खातुन र आरती देबी दुबे रहनुभएको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए ।
संस्थाका अध्यक्ष गोपाल सिँह कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले ब्यक्त गरेका थिए । जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष किरण प्रकाश गिरीले आर्थिक प्रतिबेदन र सचिव कपिल देव प्रसाद यादबले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चालन संस्थाका सह प्रबन्धक आत्मराम अधिकारीले गरेका थिए । उपस्थित अतिथिहरुको स्वागत तथा आदरसत्कार कार्यसमिती सदस्य बिद्या महर्जन र मुनि पाठकले गरेका थिए ।