दूरसञ्चार प्राधिकरणले एनसेललाई पठायो लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र

काठमाडौं, पुस ३-

एनसेलले सरकारलाई सेयर खरिद सम्झौतापत्र पठाउन आलटाल गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुईपटक पत्राचार गर्दा पनि एनसेलले आनाकानी गरिरहेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । एनसेलले दुईपटक नै सम्झौता पत्र नपठाई टालटुले जवाफ दिएपछि सोमबार प्राधिकरणले कारबाही गर्ने चेतावनीसहित तेस्रो पत्र पठाएको छ ।

उनले भने, ‘हामीले सोमबारसहित तीनपटक एनसेललाई खरिद सम्झौतापत्र (सेयर पर्चेज एग्रिमेन्ट) पठाउन पत्राचार ग¥यौँ । तर, बारम्बार उसले संकलन भइरहेको छ भन्ने टालटुले जवाफ पठाएको छ । यसपालि हामीले कानुनबमोजिम कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएका छौँ ।’

प्राधिकरणले दूरसञ्चार ऐन, २०५८ को दफा १५ को अधिकार प्रयोग गरी यस्तो विवरण मागेको उनले बताए । ऐनमा प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाहीको विवरण तथा सञ्चालन गरेका दूरसञ्चार सेवासम्बन्धी विवरण माग गर्न सक्ने उल्लेख छ । यस्तो विवरण उपलब्ध गराउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेसमेत भनिएको छ । एनसेलले अटेरी गरेमा लाइसेन्स खारेजीसम्मको कारबाही गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।