ठोरी, भाद्र १४ गते ।
पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्लको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो ।
स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधवार राति करिब ७ बजे उनको शव घर नजिकको बारीमा फेला परेको स्थानियहरुले बताएका छन्।
बुधवार बिहान करिब ११ बजे आफ्नै घर नजिकै रहेको बारीमा बाँधिएको गोरु हेर्न गएका कान्छालाल बेपता भएका थिए । परिवारले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास समेत गरेका थिए । खेजतलास गर्ने क्रममा बाघको आक्रमणबाट घाइते भएको गोरु हेरेपछी सोही क्षेत्रमा खोजी गर्दा करिब ५० मिटरको दुरीमा कान्छालालको शव भेटिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले बताउनु भयो ।
दोङको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङको निशान भेटिएको इन्स्पेक्टर राईले बताए ।