गलेश्वर, वैशाख ६ गते ।
म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा गए राति बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नं को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकल सित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीले बताएको छ। चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाट बताउनु भयो।
मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ ।