रञ्जन यादब /बारा २५ भाद्र
सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना व्यवसायमा संलग्न सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने लघु व्यवसाय सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरेको छ। संस्थाको आयोजना तथा नेफ्स्कून र डिएसआइकेको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा सहकारीका २९ जना व्यवसायिक सदस्य सहभागी भएका थिए। तालिम संस्थाको सभाहलमा सञ्चालन गरिएको हो।संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न तालिममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका भरतप्रसाद न्यौपाने र श्यामराज तिमल्सिनाले सहभागीलाई विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।

तालिममा व्यवसाय छनोटदेखि योजना निर्माणसम्मका विषयमा जानकारी दिइनुका साथै व्यवसाय सुरु गर्ने प्रक्रिया, लगानी तथा लागत व्यवस्थापन, आम्दानी–खर्चको अभिलेख राख्ने तरिका, बजारको पहिचान र बजारीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।त्यसैगरी ग्राहकसँगको व्यवहार, व्यवसाय सञ्चालनका क्रममा आउन सक्ने जोखिमको व्यवस्थापन तथा व्यवसायलाई दीर्घकालीन रूपमा नाफामुखी बनाउने उपायबारे पनि सहभागीलाई प्रशिक्षण दिइएको संस्थाले जनाएको छ।
तालिमबाट हाल साना व्यवसाय सञ्चालन गरिरहेका सदस्यलाई आफ्नो व्यवसायलाई थप व्यवस्थित बनाउन, आर्थिक व्यवस्थापनमा सुधार गर्न तथा बजारको आवश्यकता अनुसार व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म चलेको तालिमको समापन समारोहमा सहभागी २९ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। समापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वती चौधरीसहित सहकारी संस्थाका पदाधिकारी तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहकारी संस्थाले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही सदस्यलाई उद्यमशील र आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता तालिमले स्थानीय स्तरमा साना व्यवसायको विस्तारसँगै स्वरोजगार प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।




