रञ्जन यादब /बारा २० भाद्र
जीतपुरसिमरा उपमहानगरपालिका–३ अन्तर्गत रेल्वेलाइन क्षेत्र अर्थात् चुनाभट्टामा आयोजित खुला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन्। श्री पुण्डेश्वर एकादशी समूहको आयोजनामा सम्पन्न कार्यक्रममा महिला र पुरुषको उत्साहजनक सहभागिता रहेको थियो।
आयोजकका अनुसार रक्तदान गर्नेहरूमध्ये १७ जना महिला र ५५ जना पुरुष रहेका छन्। उपमहानगरपालिकाका उपमेयर भोला अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको शुभारम्भ समूहकी सचिव शिक्षा ढुंगानाले पहिलो रक्तदान गरेर गर्नुभएको थियो।मानवीय सेवाको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सञ्चालनका लागि विभिन्न सहयोगी मनबाट २२ हजार ९२ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूले खाद्य सामग्री र अन्य आवश्यक सहयोगसमेत उपलब्ध गराएका थिए।पाथीभरा इङ्लिस बोर्डिङ स्कुलले रक्तदाताका लागि फ्रुटी तथा ग्लुकोज उपलब्ध गराएको थियो भने सिमरा दूध डेरीले ५३ लिटर दूध सहयोग गरेको थियो। त्यस्तै, अमृत डेरीले रक्तदातालाई वितरण गरिने प्रमाणपत्र उपलब्ध गराएको आयोजकले जनाएको छ।

गुप्ता इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक बिकेश गुप्ताले रक्तदातालाई प्रोत्साहन गर्ने उद्देश्यले एक कार्टुन अण्डा सहयोग गर्नुभएको थियो। उहाँले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोजकले जनाएको छ।रक्तको अभावका बेला आवश्यक परेका बिरामीलाई सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समूहले जनाएको छ। श्री पुण्डेश्वर एकादशी समूहले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




