रञ्जन यादब /बारा २० भाद्र
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुधौरा–पिलुवा सडकखण्डको बैजुरा पुलमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन्। पिलुवाबाट पथलैयातर्फ मोटरसाइकलमा जाँदै गरेका चौरेललाई विपरीत दिशातर्फ गुडिरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाइरहेका चौरेललाई निजगढतर्फ जाँदै गरेको ना१अयो १३४ नम्बरको टिपरले बैजुरा पुलमा ठक्कर दिएको थियो।दुर्घटनापछि गम्भीर घाइते भएका चौरेललाई तत्काल उपचारका लागि गण्डकस्थित बयोधा अस्पताल पु¥याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।मृतक चौरेल कलैया उपमहानगरपालिका–२४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा शिक्षकका रूपमा कार्यरत रहेको स्थानीयवासीले बताएका छन्।




