रञ्जन यादब /बारा १८ भाद्र
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक अच्युतदेव सिटौलाले विद्यार्थीको उच्च शिक्षामा सहयोग पु¥याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ ।विद्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा सिटौलाले आफ्ना तथा श्रीमती सरस्वती सिटौलाको नाममा ‘अच्युतदेव सरस्वती सिटौला छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो। विद्यालयमा वि.सं. २०४२ देखि २०८२ सालसम्म अध्यापन गर्नुभएका सिटौलाले आफूले लामो समय बिताएको शैक्षिक संस्थाका विद्यार्थीको भविष्यलाई लक्षित गर्दै कोष स्थापना गर्नुभएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोष स्थापनाको घोषणा गरिएको हो।विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यका अनुसार कोषको १० लाख रुपैयाँ मुद्दती खातामा राखिनेछ। मुद्दती खाताबाट प्राप्त हुने वार्षिक ब्याजबाट प्रत्येक वर्ष योग्य विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ।छात्रवृत्तिका लागि प्लस टु तहमा उत्कृष्ट नतिजा हासिल गर्ने, आर्थिक रूपमा विपन्न तथा मेहनती विद्यार्थीलाई प्राथमिकता दिइने विद्यालयले जनाएको छ। विशेषगरी नेपालमै बसेर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।कोष स्थापना भएकै अवसरमा यस वर्ष विज्ञान संकायतर्फ प्लस टुमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी सृजन ढुंगानालाई १५ हजार रुपैयाँसहित ‘अच्युतदेव सरस्वती सिटौला छात्रवृत्ति’ प्रदान गरिएको छ। ढुंगानाले कक्षा १२ को परीक्षामा ३.६४ जीपीए प्राप्त गर्नुभएको थियो।

प्रधानाध्यापक आचार्यले विद्यालयमा पहिलोपटक यति ठूलो रकमको छात्रवृत्ति अक्षय कोष स्थापना भएको बताउँदै यसले विद्यार्थीलाई अध्ययनमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।कोषका संस्थापक सिटौलाले आफूले दशकौँसम्म अध्यापन गरेको विद्यालय र यहाँ अध्ययनरत विद्यार्थीप्रतिको जिम्मेवारीबोधका कारण छात्रवृत्ति कोष स्थापना गरेको बताउनुभयो। आर्थिक अभावकै कारण प्रतिभाशाली तथा मेहनती विद्यार्थीले उच्च शिक्षा त्याग्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले आफू र श्रीमतीको नाममा कोष स्थापना गरेको उहाँको भनाइ छ।छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले अवसरको सदुपयोग गर्दै राम्रोसँग अध्ययन गरेर भविष्यमा समाज र राष्ट्रका लागि योगदान गर्ने अपेक्षा पनि सिटौलाले व्यक्त गर्नुभयो।कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारीले पूर्व शिक्षकबाट विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुग्ने गरी ठूलो रकमको अक्षय कोष स्थापना हुनु अनुकरणीय र प्रशंसनीय कार्य भएको बताउनुभयो। आर्थिक रूपमा कमजोर भए पनि लगनशील र मेहनती विद्यार्थीलाई देशमै उच्च शिक्षा हासिल गर्न यस्तो छात्रवृत्तिले महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद, विद्यालयका सहायक प्रधानाध्यापक डम्बर खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।




