वडा कार्यालयको सहयोगमा विपन्न दलित परिवारलाई विद्युत् मिटर वितरण

रञ्जन यादब /बारा ०८ भाद्र

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेका दलित तथा विपन्न परिवारलाई विद्युत् सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वडा कार्यालयले विद्युत् मिटर, एमसीबी र केबल तार वितरण गरेको छ। वडाभित्रका आर्थिक रूपमा कमजोर तथा दलित समुदायका करिब ३८ घरपरिवार विद्युत् मिटरको अभावमा लामो समयदेखि नियमित रूपमा बत्ती बाल्नबाट वञ्चित रहँदै आएका थिए। उनीहरूलाई विद्युत् सेवाको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोगमा आवश्यक सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले आज एक कार्यक्रमका बीच लाभग्राही परिवारलाई विद्युत् मिटर, एमसीबी र आवश्यक केबल तार उपलब्ध गराएको वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो । वितरण गरिएका सामग्रीको जडान कार्य भने भोलिबाट सुरु हुने बताइएको छ ।वडा कार्यालयका अनुसार मिटर जडान भएपछि सम्बन्धित ३८ घरपरिवारले सुरक्षित र व्यवस्थित रूपमा विद्युत् सेवा प्रयोग गर्न पाउनेछन्। यसअघि मिटरको व्यवस्था गर्न आर्थिक अभाव भएका कारण ती परिवार विद्युत् सेवाबाट वञ्चित रहँदै आएका थिए।

स्थानीयवासीले वडा कार्यालयको यस पहलले विपन्न परिवारको दैनिक जीवन सहज बन्नुका साथै बालबालिकाको पढाइ, घरायसी कामकाज तथा रातिको समयमा सुरक्षित रूपमा बसोबास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। वडा कार्यालयले आर्थिक रूपमा कमजोर, दलित तथा पिछडिएका समुदायलाई आधारभूत सेवाको पहुँचमा ल्याउन आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष वाग्लेले बताउँनुभयो ।