रञ्जन यादव /बारा ८ भदौ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरस्थित एक खाली घरमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हालसम्म नौ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ २ गते बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको थियो।
घटना सार्वजनिक भएपछि प्रहरीले अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी घटनाको गहन अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रोग्रेस भन्ने पुरग्रेश चौधरीलाई भदौ २ गते पक्राउ गरेको थियो। सोही दिन १६ वर्षीय एक बालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यसपछि अनुसन्धानको दायरा फराकिलो बनाउँदै प्रहरीले भदौ ६ गते थप छ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हसमुदिन आलम, ४० वर्षीय टेक बहादुर थापा मगर तथा जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी ३३ वर्षीय नविन विक रहेका छन्। यस्तै, भदौ ७ गते १४ वर्षीय अर्का एक बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। कानुनी प्रावधानअनुसार नाबालकहरूको पहिचान गोप्य राखिएको छ।
जिल्ला अदालत बाराबाट पक्राउ परेकामाथि पहिलो पटक चार दिन र दोस्रो पटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
बालिकाको मृत्युको घटनाले स्थानीय क्षेत्रमा व्यापक आक्रोश र चासो उत्पन्न गरेको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन, संलग्न व्यक्तिको भूमिका तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।




