जीतपुरसिमरामा तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या, १६ वर्षीय सहचालक पक्राउ , बिरोधमा प्रद्र्धशन र चक्काजाम

रञ्जन यादब /बारा ०३ भाद्र

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तीटोलस्थित एक सुनसान घरमा बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको वीभत्स अवस्थामा शव फेला परेको छ। बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि गर्दै प्रहरीले घटनामा संलग्न १६ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ ।साउन ३१ गते छिमेकी प्रोग्रेस चौधरीको घर अगाडि खेल्ने क्रममा हराएकी मनोज चौधरीकी कान्छी छोरी गरिमा मंगलबार साँझ अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन्। खोजीका क्रममा स्थानीयले पाँच महिनादेखि खाली रहेको घरबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।
यसरी भयो घटना
पक्राउ परेका १६ वर्षीय बालक प्रोग्रेस चौधरीकै म्याजिक गाडीमा सहचालकको रूपमा १० दिनअघिदेखि काम गर्दै आएका थिए।फकाएर लगिएकोः साथीसँग खेलिरहेकी बालिकालाई १० रुपैयाँको चकलेट किनिदिएर बालकले उक्त सुनसान घरभित्र पुर्याएका थिए।पासविक अपराधः बालिकामाथि बलात्कार गरेपछि उनी अचेत भएकी थिइन्। त्यसपछि बालकले घाँटीमा डोरीले कसेर हत्या गरेका थिए।अपराध लुकाउने प्रयासः घटनालगत्तै फर्किएका बालकले पछि पुनः सोही स्थानमा पुगी घाँटीको डोरी फुकालेर शवलाई तन्नाले ढाकेका थिए। त्यसपछि उनी केही नभएझैँ परिवार र प्रहरीसँगै बालिका खोजी कार्यमा समेत सहभागी भएका थिए।

तालिमप्राप्त कुकुरको मद्दतले अभियुक्त सार्वजनिक

घटनास्थलमा वीरगन्जबाट ल्याइएको तालिमप्राप्त सुराकी कुकुरले बालिकाको कपडा सुँघेर प्रोग्रेसको घरतिर सङ्केत गरेपछि प्रहरीले शङ्काका आधारमा सहचालकलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले अपराध स्वीकारेका हुन्।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अभियुक्त र म्याजिक चालक चौधरी दुवैलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको छ। उनीहरूविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
स्थानीयको आक्रोश र शोकसभा

नृशंस घटनाको विरोधमा आक्रोशित स्थानीयले दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै पथलैया–वीरगन्ज सडकखण्डको दसधुरे क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले विज्ञप्ति जारी गर्दै घट्नाको घोर भत्सर्ना गरेका छन्। सरस्वती आधारभूत विद्यालयको बाल कक्षामा अध्ययनरत गरिमाको निधनमा नगर प्रमुख पौडेलले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा बिहीबार शोकसभा आयोजना गर्न अपिल गरेका छन्। त्यस्तै कलैया र कोल्हबीमा पनि बालिकाको हत्याको बिरोधमा प्ले कार्ड बोकेर प्रदर्शन भएको छ ।