सिमरामा उज्यालो नेपालको विद्युत् महसुलसम्बन्धी मागसहित हस्ताक्षर अभियान

रञ्जन यादब /बारा, २ भदौ

विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले बाराको सिमराबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।
विद्युत् महसुलमा करको भार घटाउन र सरकारलाई आफ्ना मागप्रति गम्भीर बनाउन नागरिकको समर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ।

उज्यालो नेपालले विद्युत् महसुलमा लगाइएको भ्याट पूर्ण रूपमा खारेज गर्नुपर्ने, डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल गर्नुपर्ने र स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउने नीति लिनुपर्ने माग अघि सारेको छ। सरकारले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुलीमा प्रभावकारी पहल नगरेको आरोपसमेत पार्टीले लगाएको छ।

पार्टीका अनुसार विद्युत् उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले विद्युत्लाई महँगो बनाउने कर तथा अन्य अनावश्यक भार हटाउन आवश्यक छ। साथै इन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन, स्वदेशी विद्युत् खपत वृद्धि र ग्याँसको सहज आपूर्तिका लागि आवश्यक कदम चाल्नुपर्ने माग पनि अभियानमार्फत अघि सारिएको छ।
सरकारले विद्युत् खपत बढाउने वातावरण बनाउनुपर्नेमा कर लगाएर उपभोक्तामाथि थप आर्थिक भार सिर्जना गरेको उज्यालो नेपालको आरोप छ। हस्ताक्षर अभियानमार्फत नागरिकको आवाजलाई एकीकृत गरी सरकारलाई आफ्ना माग सम्बोधन गर्न दबाब दिने पार्टीले जनाएको छ।

सिमरामा सुरु गरिएको हस्ताक्षर संकलन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह ‘पराग’ तथा जिल्ला सदस्य नविन लामा र सरिता लामालगायतको सहभागिता रहेको थियो।