रञ्जन यादब /बारा २० बैशाख
जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने अमलेखगञ्जमा उत्प्रेरणा तालिम सम्पन्न गरेको छ ।
“हामी बनाउँछौँ ,हाम्रो विद्यालय ” भन्ने शीर्षकमा आयोजित उक्त तालिममा उपमहानगरपालिका भित्र रहेका ६१ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।तालिम कार्यक्रमको मुख्य उद्देश्य विद्यालयलाई अझ व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने रहेको बताइएको छ ।

विद्यालयको समग्र वातावरण सुधार, शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि गर्ने तथा अभिभावक र समुदायको सहभागिता बढाउने विषयमा विशेष जोड दिइएको थियो ।कार्यक्रममा शिक्षा विद् अभिषेक घिमिरेले सहजीकरण गर्दै विद्यालय सुधारका लागि शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले शिक्षक केवल पाठ पढाउने व्यक्ति मात्र नभई विद्यार्थीको भविष्य निर्माण गर्ने मार्गदर्शक भएको उल्लेख गर्दै सकारात्मक सोच, अनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीबोधले विद्यालयलाई नमुना बनाउन सकिने धारणा राखे ।उनले विद्यालयको भौतिक संरचना मात्र होइन, शिक्षण पद्धति, शिक्षकको व्यवहार, विद्यार्थीप्रतिको दृष्टिकोण र समुदायसँगको सम्बन्धले पनि विद्यालयको पहिचान निर्धारण गर्ने बताए । “हाम्रो विद्यालय राम्रो बनाउने जिम्मेवारी अरू कसैको होइन, हामी सबैको साझा दायित्व हो,” उनले भने ।
उपमहानगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिहरूले यस्ता तालिमले शिक्षकहरूमा नयाँ ऊर्जा थप्ने र विद्यालय सुधार अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । सहभागी शिक्षकहरूले पनि तालिमबाट विद्यालय सञ्चालन, व्यवस्थापन र विद्यार्थी केन्द्रित शिक्षणका नयाँ अनुभव प्राप्त भएको बताएका छन् ।उपमहानगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । स्थानीय तहको सक्रियता र शिक्षकहरूको प्रतिबद्धताले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।

