रञ्जन यादब/बारा
बाराको जीतपुरसिमरा–१५ डुमरवाना मा अवस्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले आफ्नो २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। आइतबार आयोजित समारोह विविध सांस्कृतिक कार्यक्रम, सम्मान अर्पण तथा विद्यार्थीहरूको फुड फेस्टिबलका कारण विद्यालय परिसर उत्साहले भरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा तथा राजन पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समारोहमा वक्ताहरूले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर प्रगति गर्दै आएको उल्लेख गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विद्यार्थीहरूको सहभागिता र उपलब्धिलाई विद्यालय व्यवस्थापनको दूरदृष्टि र मेहनतको परिणामका रूपमा लिइयो। विद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै पछिल्ला वर्षहरूमा हासिल गरिएका उपलब्धि, आगामी योजना तथा शैक्षिक सुधारका प्राथमिकता सार्वजनिक गरे। उनले गुणस्तरीय शिक्षा, अनुशासन र सीप विकासलाई केन्द्रमा राखेर विद्यालय अघि बढिरहेको जानकारी दिए।प्रमुख अतिथि नगरप्रमुख पौडेलले विद्यालयले शैक्षिक जनशक्ति उत्पादन, खेलकुद तथा अतिरिक्त गतिविधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। मधेश प्रदेशबाट पहिलो पटक परराष्ट्र मन्त्रालयमा विद्यार्थी प्रतिनिधित्व गर्न सफल भएको प्रसंग उल्लेख गर्दै उनले यसलाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा चित्रण गरे। साथै, नयाँ शैक्षिक सत्र सुरु हुनु अघि शिक्षा ऐन तथा नियमावलीको गहन अध्ययन गरी सुधारका पहल गर्नुपर्नेमा जोड दिँदै उनले विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्नुपर्ने आवश्यकता औंल्याए।आधारभूत तहको शैक्षिक स्तर उकास्न उपमहानगरपालिकाले कक्षा ५ को परीक्षा आफैं सञ्चालन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए।

यस अभियानमा विद्यालय, अभिभावक र समुदायको सहकार्य अनिवार्य रहने उनको भनाइ थियो। कार्यक्रममा जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले सामुदायिक विद्यालयमा उपलब्ध गराइने सेनिटरी प्याड सुविधा संस्थागत विद्यालयमा नपुग्नुबारे प्रश्न उठाउँदै समान व्यवहार हुनुपर्ने धारणा व्यक्त गरे।वार्षिकोत्सवको अवसरमा वर्ष अभिभावक सम्मानबाट शिला बहादुर गुरुङ र राजेश्वर प्रसाद चौधरी सम्मानित भए भने उत्कृष्ट कर्मचारी सम्मान अनिता दुलाल चौधरीलाई प्रदान गरियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झाँकी, गीत–नृत्य प्रस्तुत गर्नुका साथै फुड फेस्टिबलमार्फत आफ्ना सिर्जनात्मक गतिविधि प्रदर्शन गरेका थिए। अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप सफल र स्मरणीय बनाएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक किशोरबाबु श्रेष्ठले गरेका थिए।

