नेपाल स्वास्थ्य शिक्षा संघ को १८ औँ वार्षिक साधारण सभा सम्पन्न ,राष्ट्रिय गोष्ठी तथा प्रथम मधेश प्रदेश सम्मेलन

रञ्जन यादब /बारा

नेपाल स्वास्थ्य शिक्षा संघ को १८ औँ वार्षिक साधारण सभा, राष्ट्रिय गोष्ठी तथा प्रथम मधेश प्रदेश सम्मेलन बाराको सिमरामा भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न प्रदेश, जिल्लाबाट आएका सहभागीहरूको सिमरा कलेजमा उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य शिक्षासम्बन्धी समसामयिक विषयमा केन्द्रित प्यानल डिस्कसन आयोजना गरिएको थियो। प्यानलमा सहभागी स्वास्थ्य शिक्षा विज्ञहरूले विद्यालय तहदेखि उच्च शिक्षासम्म स्वास्थ्य शिक्षा विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीतिगत सुधार, पाठ्यक्रम परिमार्जन र व्यावहारिक शिक्षण पद्धतिबारे धारणा राखेका थिए।

छलफलका क्रममा सरकारले स्वास्थ्य विषयका शिक्षकको दरबन्दी सिर्जना गरी स्थायी नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने, स्वास्थ्य शिक्षा शिक्षकलाई नियमित तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने, र विद्यालयस्तरमा स्वास्थ्य शिक्षालाई अनिवार्य तथा व्यवहारिक बनाउनुपर्ने विषयमा जोड दिइएको थियो। सहभागीहरूले स्वास्थ्य शिक्षा अभावकै कारण किशोर–किशोरीमा बढ्दो स्वास्थ्य समस्या, सरसफाइ, पोषण तथा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका थिए।

कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्ययोजना प्रस्तुत गरिएको थियो। संघका पदाधिकारीहरूले संगठन विस्तार, प्रदेश संरचना सुदृढीकरण र स्वास्थ्य शिक्षा विषयलाई राष्ट्रिय नीतिमा मजबुत स्थान दिलाउन सक्रिय पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रथम मधेश प्रदेश सम्मेलनबाट प्रदेशस्तरीय कार्यसमिति समेत गठन गरिएको जनाइएको छ। सम्मेलनले स्वास्थ्य शिक्षा क्षेत्रको गुणस्तर सुधार, शिक्षक अधिकार संरक्षण तथा जनचेतना अभिवृद्धिमा संयुक्त रूपमा पहल गर्ने निर्णय समेत गरेको छ।

कार्यक्रमले स्वास्थ्य शिक्षा क्षेत्रका चुनौती र सम्भावनाबारे गम्भीर बहस सिर्जना गर्दै राज्य, शिक्षक र सरोकारवाला निकायबीच सहकार्यको आवश्यकता औँल्याएको आयोजकले जनाएको छ।नेपाल स्वास्थ्य शिक्षा संघका अध्यक्ष डा.कमल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश बिश्व बिद्यालयका उप कुलपती दिपक शाक्य रहनु भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल ,उप प्रमुख भोला प्रसाद अधिकारी ,बागमती बिश्वबिद्यालयका उप कुलपती डा.कुशुमराज सुबेदि ,सिमरा कलेज प्रमुख शम्भु प्रसाद खरेल ,निबर्तमान कलेज प्रमुख शालिकराम अधिकारी,शिक्षक अच्युत सिटौला ,वडा नं.२ का अध्यक्ष धन प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल स्वास्थ्य शिक्षा संघका माहासचिव भगवान अर्यालले गर्नुभएको थियो ।