सयपत्री युवा क्लबद्वारा नगौलमा निशुल्क आँखा शिविर सम्पन्न , २८५ जना सेवाग्राही लाभान्वित

रञ्जन यादब /बारा

सयपत्री युवा क्लब जीतपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा सञ्चालन गरिएको एक दिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरको सहकार्यमा आयोजित उक्त शिविरबाट कुल २८५ जना सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा गरिएको स्वास्थ्य परीक्षण अनुसार ८५ जना मोतिबिन्दुका बिरामी, ५५ जना दृष्टिदोष भएका तथा ८ जना टेरिजियम (मासु बढेको) समस्या भएका बिरामी पहिचान भएको केडिया आँखा अस्पतालका नेत्र साहयक सुदर्शन काफ्लेले जानकारी दिए। मोतिबिन्दु भएका बिरामीहरूको लेन्स प्रत्यारोपणसहितको शल्यक्रिया बुधबार र बिहीबार केडिया आँखा अस्पताल, परवानीपुरमा गरिने जानकारी आयोजकले दिएको छ। शिविरमा सहभागी बिरामीहरूलाई आवश्यक निशुल्क औषधि वितरणसमेत गरिएको थियो।

आँखा शिविरमा अनुभवी चिकित्सक टोलीको सहभागिता रहेको थियो। चिकित्सक टोलीमा डा. शिवशंकर प्रसाद, डा. रामदेव साह, डा. कौशल कर्ण तथा नेत्र सहायक सुदर्शन प्रसाद काप्ले , राजेश यादवका रहेका थिए। सयपत्री युवा क्लब जीतपुरले समाजमा दृष्टि सम्बन्धी समस्याबाट पीडित विपन्न तथा सेवावञ्चित नागरिकलाई लक्षित गरी यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छआँखा शिविरको उद्घाटन प्रदेश सभाका सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष कैमुद्दिन अन्सारी,आँखा अस्पतालका चिकित्सक डाक्टर शिवशंकर शाह ,कौशल कुमार कर्ण, राजदेव साहलगायतले आँखाको सुरक्षाका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा आ आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले वडा नम्बर ६ का अध्यक्ष फजेल हक अन्सारी, कमरुहोदा अन्सारी, आजिर हुसेन, कांग्रेसका फैजल अन्सारीलगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुदर्शन काफ्लेले गर्नुभएको थियो।