रञ्जन यादब /बारा
पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत जनहित मध्यवर्ती उपभोक्ता समिति तथा जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, जीतपुरसिमरा उपमहानगरपालिका–३, रामवन बाराको १८औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।साधारण सभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी रहनुभएको थियो।

कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधि, बचत तथा ऋण समूहका सदस्य, सुरक्षाकर्मी, पत्रकारलगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा समुहका अध्यक्ष ईश्वर प्रताप लामाले समूहको वार्षिक प्रगति विवरण (२०८१÷०८२) प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्ययोजना माथि विस्तृत छलफल गरिएको थियो। प्रस्तुत कार्ययोजनाअन्तर्गत सामुदायिक विकास तथा संरक्षणलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको छ।गत आर्थिक वर्षमा साधारण सभा सञ्चालनका लागि भवन निर्माण, पिकनिक पार्क सञ्चालन, पोखरी मर्मत तथा भाडामा लगाउने, सामुदायिक सस्तो किराना पसल सञ्चालन, भलिबल खेल मैदानको व्यवस्थापन तथा चौतारा मर्मत एवं निर्माणजस्ता कार्यहरू गरिएको जानकारी दिइयो।

यस्तै आगामी वर्षका लागि सभाहलमा जस्ता लगाउने, प्रथम जनजागरण भेटघाट कप खेल आयोजना गर्ने तथा टिनको बाकस र ग्यासचुलो वितरण गर्ने योजना सार्वजनिक गरिएको छ।कार्यक्रममा वक्ताहरूले सामुदायिक वन संरक्षणसँगै स्थानीय विकास, रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वमा वन उपभोक्ता समूहको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। सभाको अन्त्यमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै “जय हरियाली” नारासहित कार्यक्रम समापन गरिएको थियो।


