वन्यजन्तुमैत्री पूर्वाधार कार्यान्वयनमा जोड, दुर्घटना न्यूनीकरणका उपाय अपरिहार्य

रञ्जन यादब /बारा

निकुञ्ज तथा वन क्षेत्र भएर जाने राजमार्गमा हुने सडक दुर्घटनाबाट मानव र वन्यजन्तुको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज अाधाभारकाे अायाेजनामा भएकाे अन्तरक्रिया कार्यक्रममा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८’ लाई योजना, डिजाइन, निर्माण तथा अनुगमनका सबै चरणमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

अन्तर्क्रियामा हाल निर्देशिका केवल आचारसंहिता जस्तै सीमित रूपमा बुझिँदै आएको तर व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा निकुञ्ज क्षेत्रका सडकमा वन्यजन्तु र मानवीय दुर्घटना बढ्दै गएको निष्कर्ष निकालिएको छ। सहभागीहरूले निकुञ्जभित्रका सडक क्षेत्रमा सवारी साधनको गति कडाइका साथ नियन्त्रण गर्ने, स्पीड ब्रेकर तथा रम्बल स्ट्रिप जडान गर्ने, रात्रीकालीन सवारी सञ्चालनमा विशेष सावधानी अपनाउने र उच्च जोखिमयुक्त स्थानमा चेतनामूलक सूचना बोर्ड राख्नुपर्नेमा जोड दिएका छन्।

सडक पूर्वाधार निर्माणका क्रममा वन्यजन्तुको प्राकृतिक आवतजावतलाई ध्यानमा राखी अन्डरपास, ओभरपास (वन्यजन्तु करिडोर) निर्माण गर्नु, पुल तथा खोलामुनि जनावर सहजै पार गर्न सक्ने संरचना विकास गर्नु दीर्घकालीन समाधानका रूपमा औँल्याइएको छ। त्यस्तै, जोखिमयुक्त क्षेत्रमा मार्गदर्शक तारबार (गाइडिङ फेन्सिङ) जडान गरी वन्यजन्तुलाई सुरक्षित पारतर्फ डोर्‍याउनुपर्ने सुझाव समेत दिइएको छ।

कार्यक्रममा चितवनको टिकौली र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रस्तावित दुई वटा फ्लाइओभर निर्माण योजनाका सन्दर्भमा गम्भीर छलफल भएको थियो। चितवन क्षेत्रमा टेन्डर प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा समेत वन्यजन्तु सुरक्षाका मापदण्ड पूर्ण रूपमा समेटेर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने र अन्तर्क्रियाबाट उठेका सुझावलाई नीतिगत तहसम्म पुर्‍याउनुपर्ने माग सहभागीहरूले गरेका छन्।

सरोकारवालाहरूले वन तथा वातावरण मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, इन्धन आपूर्ति निकाय र स्थानीय प्रशासनबीच स्पष्ट भूमिका बाँडफाँड, नियमित समन्वय, उत्तरदायित्व र प्रतिबद्धता आवश्यक रहेको ठहर गरेका छन्। दुर्घटना न्यूनीकरणका लागि केवल पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने, सवारी नियमको कडाइका साथ कार्यान्वयन, चालक तथा यात्रु लक्षित जनचेतना कार्यक्रम र नियमित अनुगमन पनि समान रूपमा महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाकाे अध्यक्षतामा भएकाे अन्तर्क्रिया कार्यक्रममा डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीज कुमार झा , जीतपुरसिमरा उपमहानगरपालिकाकाे नगर उप प्रमुख भाेला प्रसाद अधिकारी , वडा नं.२१ का वडा अध्यक्ष सुबाश श्रेष्ठ , वडा नं.२२ का वडा अध्यक्ष शेखरकाजी रुम्बा , वन विज्ञान संकाय हेटौंडाका डिन बासुदेव पोख्रेल, पथलैयाका ट्राफिक निरिक्षक रमेश राई, सडक डिभिजन हेटौंडाका इन्जिनियर गिरिश नन्दन पोरस, नेपाल आयल निगम प्रशासनका आकाश बस्नेतलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मानव जीवन र वन्यजन्तु दुवैको सुरक्षालाई सुनिश्चित गर्ने गरी नीतिगत, संरचनागत तथा व्यवहारिक सुधार तत्काल अघि बढाउनुपर्नेमा एकमत जनाएका छन्।

कार्यक्रममा प्रस्तुतिकरण रेञ्जर जयराम न्याैपाने गरेका थिए भने सञ्चालन संरक्षण अधिकृत संताेष कुमार भगतले गरेका थिए