जीतपुरमा चक्काजाम, ६ लेन सडकमा १ घण्टा ३० मिनेट यातायात अवरुद्ध ,उपमहानगरको स्पष्टिकरण ः त्रिभुवन राजपथ संघीय सरकारको क्षेत्राधिकार

रञ्जन यादब /बारा

बिरगंज–पथलैया ६ लेन सडक खण्डअन्तर्गत त्रिभुवन राजपथको बाराको जीतपुर बजार क्षेत्रमा आइतबार सटर व्यवसायीहरूले चक्काजाम गरेका छन्। करिब १ घण्टा ३० मिनेटसम्म सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भई यात्रुहरू सास्ती खेप्न बाध्य भएका थिए। सडक र फुटपाथ मिचेर भइरहेको व्यापारका कारण आफ्ना सटरको व्यवसाय प्रभावित भएको, आवागमनमा समस्या आएको र दुर्घटनाको जोखिम बढेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

यसअघि नै उनीहरूले सडक खाली नगरिए चक्काजाम गर्ने चेतावनी दिँदै जीतपुरसिमरा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। चक्काजामपछि प्रहरी प्रशासन सक्रिय बनेको थियो। प्रहरी र सरोकारवालाबीचको छलफलपछि सडक तथा फुटपाथमा भइरहेको अव्यवस्थित व्यापार हटाउने सर्तमा आन्दोलन स्थगित गरिएको छ। यस घटनापछि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन राजपथ (वीरगंज–पथलैया ६ लेन सडक खण्ड) राष्ट्रिय राजमार्ग भएकाले यसको स्वामित्व तथा प्रत्यक्ष प्रशासनिक अधिकार संघीय सरकार मातहत रहेको स्पष्ट पारेको छ।

उपमहानगरपालिकाका अनुसार संविधान र सार्वजनिक सडक ऐनअनुसार राष्ट्रिय राजमार्गको दायाँबायाँ २५÷२५ मिटर अधिकार क्षेत्र व्यवस्थापन, ट्राफिक सञ्चालन तथा संरक्षणको जिम्मेवारी सडक विभागको क्षेत्राधिकारभित्र पर्दछ। यद्यपि नगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग खण्डमा सार्वजनिक आवागमन, बजार अनुशासन र नागरिक सुरक्षासँग सम्बन्धित विषयमा स्थानीय सरकारको जिम्मेवारी रहने उल्लेख गर्दै उपमहानगरपालिकाले ट्राफिक प्रहरी, जिल्ला प्रशासन र सम्बन्धित संघीय निकायसँग समन्वय गरी अतिक्रमण हटाउन तथा दीर्घकालीन समाधान खोज्ने जनाएको छ।